नेपालमा तीन जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पर्साको वीरगन्जस्थित छपकैयाको मस्जिदमा बसेका तीन जना पुरूषमा कोरोनाको संक्रमण पुष्टि भएको हो।
‘छपकैयास्थित मस्जिदमा शंकास्पद रूपमा रहेका २१ जनाको परिक्षण गर्दा त्यसमध्ये तीन जना वर्ष ३७, ५५ र ४४ का पुरूषहरूलाई कोभिड-१९ को शंका लागि नारायणी अस्पताल, वीरगन्जमा आइसोलेशनमा राखी निजहरूको समेत थ्रोट स्वाब किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटौंडाको ल्याबमा परीक्षण गरिएको थियो।
मन्त्रालयका अनुसार उक्त परिक्षणमा २१ जनामध्ये शंकास्पद तीन जनाको पोजेटिभ देखिएपछि पुन: एकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा चैत २९, शनिबार पुन: परीक्षण गरिएकोमा त्यहाँबाट समेत पोजिटिभ देखिएको हुँदा निजहरूको संसर्ग र निजहरू गएको स्थान पहिचान गरी कन्ट्याक्ट ट्रेसिङ गर्ने कार्यहरू भैरहेको छ।
वीरगन्जको मस्जिदमा बसेका उनीहरू भारतीय नागरिक भएको खुलेको छ। तर प्रशासनले उनीहरू कहिले नेपाल आएका हुन् भन्ने एकिन गर्न सकेको छैन।
योसँगै नेपालभित्र अब कोरोना संक्रमितको संख्या १२ जना पुगेको छ। यसअघि काठमाडौं, बाग्लुङ, कैलाली र कञ्चनपुरका ९ जनामा कोरोनाको संक्रमण देखिएको थियो। तीमध्ये १ जना उपचारपछि निको भएर घर गएका छन् भने ८ जनाको सामान्य अवस्थामा उपचार भइरहेको छ।