

लकडाउन घोषणा भएको २० औं दिन पनि जारी रहेको छ। चैत ११ गते बिहान ६ बजेबाट सुरु भएको लकडाउन आइतबार पनि जारी रहेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले लकडाउनको १९ औं दिन शनिबारबाट लकडाउनलाई कार्यान्वयन गर्न अनावश्यक हिँडडुल गर्नेहरुलाई नियन्त्रणमा लिएर दिनभर तातोघाममा राख्ने अभियान सुरु गरेको छ।

लकडाउनलाई कार्यन्वयन गर्न खटेका प्रहरी – उदयपुर
बन्दाबन्दीको २० औं दिनमा उदयपुरमा लकडाउन अवज्ञागर्ने ३५ जनालाई प्रहरीले नियन्त्रणमा लिएर दिनभर तातो घाममा राखेको छ। लकडाउन उल्लंघन गर्दै मानिसहरु अनावश्यक हिँडडुल गरेपछि प्रहरीले सक्रियता बढाउदै यो अभियान सुरु गरेको हो।

लकडाउनको अबज्ञा गर्ने सर्वसाधारण
गाईघाट बजार एरियाका मुख्य बजार क्षेत्र चोक चोकहरुमा र भिडभाड हुने स्थानमा कडाई गरेको उदयपुरका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले जानकारी दिए।

लकडाउनमा नियन्त्रणमा लिइएका सवारी साधन
अभियान सुरु गरेको दोस्रो दिन सदरमुकाम गाईघाटका विभिन्न स्थानबाट ३५ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिकृष्ण केसीले बताए। अभियान सुरुगरेको पहिलो दिन ३२ जनालाई नियन्त्रणमा लिएर छाडिएको थियो।