विश्वकै सवैभन्दा धेरै जनसंख्या भएको मुलुक चीनबाट फैलिएको नोवेल कोरोना भाइरस(कोभिड-१९) विश्वका २ सय १५ देशमा पुगेको छ। कोरोना भाइरस एसिया बाट फैलिएको भएपनि अमेरिका र युरोपका देशहरुमा सबैभन्दा बढी प्रभाब पारेको छ।
विश्वमा हाल ६३ लाख ६२ हजार १ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमा युरोप र अमेरिकी मुलुकका मात्र ५० लाख ३३ हजार ९ सय ११ जना रहेका छन्।
चीनसंगै सिमाना जोडीएका देश भीयतनाम, हङकङ र ताईवानले कोरोना भाईरसलाई पूर्ण नियनत्रण गरेका नभएपनि संक्रमण बढ्ने खतरालाई भने नियंत्रणमा राखेका छन ।
एसियामा सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश भारत हो जहाँ हाल २ लाखमा संक्रमणको पुष्टि भएको छ। नेपाल पनि चीनसंग सिमाना जोडिएको देश भएपनि नेपालमा चीनबाट कोरोनाको संक्रमण बढेन।
अहिले चीनले लगभग कोरोनालाई जितिसकेका छ। विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश भएपनि उसले संक्रमणको जोखिम क्षेत्रलाइ मध्यनजर गरि सो क्षेत्रलाई सिल गरेर कोरोना भाइरस फैलिन रोक्यो।
अहिले चीनमा कोरोनाका नयाँ बिरामी देखिन छाडेका छन्। चीनसँगै सिमाना जोडिएको अर्को देश ताइवान जहाँ हाल सम्म ४ सय ४३ जनामा मात्र कोरोना पोजेटिभ देखिएको छ।
सन् २००२–२००३ मा सार्स महामारीपछि ताइवानले नेशनल हेल्थ कमान्ड सेन्टर स्थापना गरेको थियो। संभावित महामारीसँग जुध्न स्थापना गरिएको उक्त सेन्टर वुहानमा संंक्रमण फैलन थालेसँगै सक्रिय भइसकेको थियो।
वुहानमा संंक्रमण फैलन थालेसँगै ताइवानले चीन, हङकङ र मकाउ आवतजावतमा रोक लगायो। सर्जिकल मास्कको निर्यातमा समेत रोक लगाएर उसले आउने बिपत्ती सँग लड्न तयार भयो।
ताइवानको नेशनल हेल्थ इन्स्योरेन्स, भन्सार र अध्यागमनले तथ्यांक संंकलन गर्ने र त्यसलाई यात्रा विवरणसँग जोडेर कोरोना संक्रमणका संभावित विरामीहरु पत्ता लगाइरहेका छन्।
देशमा प्रवेश गर्ने प्रत्येक यात्रुले क्यूआर कोड मार्फत आफ्नो यात्राको जानकारी दिनुपर्ने एप पनि बनाइएको छ। यो जानकारी अध्यागमनका अधिकारीले पाएपछि कसलाई प्रवेश दिने, कसलाई निगरानीमा राख्ने जस्ता निर्णय गर्छन्।
कोरोना प्रभावित देशबाट आउने यात्रुमा संंक्रमणका लक्षण नदेखिए पनि १४ दिनको सेल्फ क्वारेन्टाइन अनिवार्य गरिएको छ। सेल्फ क्वारेन्टाइनमा रहेका व्यक्तिलाई मोबाइल फोनबाट निगरानी गर्नुका साथै प्रहरीले समेत निगरानीमा राखेको हुन्छ। क्वारेन्टाइनमा रहनुपर्ने कुनै व्यक्ति फरार हुन खोजेमा ठूलो जरिवाना तोकिएको छ।
कसैैलाई ज्वरो आएको छ वा कोरोना संक्रमणको जस्तो लक्षण देखिएको छ तर, उसले स्वास्थ्य केन्द्रमा जानकारी गराएको छैन भने पनि सजायको व्यवस्था गरिएको छ। कसैमा कोेरोेना संंक्रमण पुष्टि भयो भने स्वास्थ्य अधिकारीहरुले ऊ क–कसको सम्पर्कमा पुगेको थियो ती सबैको परीक्षण गर्ने र अनिवार्य क्वारेन्टाइनमा राख्ने गरिरहेका छन्।
चीनसँग सिमाना जोडिएको अर्को मुलुक भियतनामले पनि देशमा कोरोना संंक्रमण फैलन दिएको छैन। भियतनाममा हालसम्म ३ सय २८ जनामा मात्र कोरोनाको पुष्टि भएको छ र अहिले नया संक्रमित पनि भेटिएका छैनन्।
भियतनाम पनि ताइवान जस्तै सन् २००२–२००३ मा सार्स महामारीको चपेटामा परेको थियो। ९ करोड ७० लाख जनसंख्या भएको यस मुलुकमा कोरोनाका कारण अहिलेसम्म कसैले पनि ज्यान गुमाउनु परेको छैन, चीनसँग लामो सीमा जोडिएको र चीनबाट हरेक वर्ष दशौं लाख पर्यटकको आगमन हुने यस देशमा गत शनिबारसम्म केवल ३ सय २८ जनामा कोरोना संक्रमण फेला परेको छ ।
तीन सातासम्मको राष्ट्रव्यापी लकडाउनपछि भियतनामले सामाजिक दूरीको नियम अप्रिलको अन्त्यमा खुकुलो गर्यो । यहाँ पछिल्लो ४० भन्दा धेरै दिनदेखि स्थानीय स्तरमा संक्रमण भेटिएको छैन । उद्योग र विद्यालयहरु फेरि खुलिसकेका छन् र बिस्तारै जनजीवन सामान्य हुँदैछ ।
लुनार नयाँ वर्षको बिदाका दिन उत्सव मनाइरहँदा प्रधानमन्त्री न्युयेन सुआन फोकले कोरोना भाइरसविरुद्ध युद्धको घोषणा गरे । ‘यो महामारीसँग लड्नु शत्रुसँग लड्नुजस्तै हो,’ २७ जनवरीमा कम्युनिष्ट पार्टीको आपतकालीन बैठकमा उनले भने । तीन दिनपछि उनले महामारी नियन्त्रणका लागि राष्ट्रिय संयन्त्र गठन गरे, यही दिन डब्ल्युएचओले कोरोना भाइरसलाई अन्तर्राष्ट्रिय सरोकारको स्वास्थ आपतकाल घोषणा गर्यो ।
कन्ट्याट ट्रेसिङमार्फत संक्रमितसँग सिधा सम्पर्कमा आएका सबैलाई स्वास्थ्य केन्द्र, होटल वा सैन्य क्याम्पको सरकारी क्वारेन्टिनमा राखियो । २० जना जनस्वास्थविद्ले गरेको ‘भितनामको कोभिड–१९ नियन्त्रण विधि’ अध्ययनअनुसार अप्रत्यक्ष सम्पर्कमा रहेकाहरुलाई घरमै सेल्फ आइशोलेसनमा अनिबार्य बस्न निर्देशन दिइयो ।
नेपालमा पनि पहिलो कोरोना संक्रमित देखिएको लामो समय सम्म कोरोना संक्रमण देखिएन। चीनको वहान क्षेत्रबाट आएका एक विद्यार्थीमा पहिलोपटक कोरोना संक्रमण देखिएको थियो। ति युवाबाट नेपालमा अन्य कसैलाई पनि संक्रमण फैलिएको देखिदैन।
यस्तै दोस्रो तेस्रो बिरामी पनि चीन नभएर तेस्रो मुलुकबाट आएका थिए। उनीहरुबाट पनि नेपालमा कोरोना संक्रमण फैलिन पाएन। यसरि एक एक विदेशबाट आउने व्यक्तिमा कोरोना देखिएपनि अन्यमा संक्रमण फैलिन पाएको थिएन।
पछिल्लो समय नेपालमा कोरोना संक्रमण फैलिनुमा सवैभन्दा बढी भारतबाट नेपाल आउने नेपालीका कारण देखिएको छ। अन्य नेपाल जस्तै आर्थिक क्षमता भएका देशले कोरोनालाई परास्त गर्दै जादा नेपालमा भने अहिले कोरोना संक्रमण उच्च हुदै गएको छ।
यदि नेपालले भारतबाट आउने नेपालीलाई समयमा क्वारेन्टाइन सहित आइसुलेसनमा राखेको हुन्थ्यो भने नेपालमा संक्रमण बढ्ने थिएन भनेर अहिले कोरोना संक्रमण फैलिएको जिल्ला हेर्ने हो भने पनि देखिन्छ।
नेपालमा सवैभन्दा धेरै एकै पटक उदयपुरको भुल्के क्षेत्रमा कोरोना संक्रमित देखिए। भुल्केम्मा कोरोना सक्रमित भेटिएका ब्याक्तिहरु पनि भारतबाट आएका नै थिए। सरकारले ति भारतबाट आएका मध्यबाट कोरोना संक्रमण नभएको बताए पनि अधिकांस स्थानमा भारतबाट आएकाहरुलाई नै कोरोनाको संक्रमण देखिएको छ।
सरकारले अन्य देशमा जस्तै लकडाउनलाई महत्वपूर्ण मानेर स्थानीय मानिसलाई नियन्त्रणमा राख्यो तर भारतबाट नेपाल प्रवेश गर्ने नाकाहरुमा कडाई गर्न सकेन जसको फलस्वरूप नेपालमा कोरोनाको संक्रमण अहिले बढी रहेको छ।
अवपनि भारतबाट नेपाल प्रवेश गर्ने नेपाली हरुलाई एक एक गरेर क्वारेन्टाइन अथवा आइसुलेसनमा राख्ने हो र अहिले सम्म संक्रमित भएका संग प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई अनिवार्य क्वारेन्टाइन र आइसुलेसनमा राख्ने हो भने नेपालमा कोरोना नियन्त्रण गर्न सकिन्छ।