त्रियुगा नगरपालिकाले अघिल्लो आर्थिक बर्षको बार्षिक प्रगति समिक्षा गरेको छ । चालु आर्थिक बर्षको पहिलो चौमासिक भित्रअघिल्लो आर्थिक वर्षको आयोजना र कार्यक्रमको वार्षिक समिक्षा गर्नुपर्ने कानूनी ब्यवस्था अनुसार गत बर्षको बार्षिक कार्यक्रम सम्मिलित प्रगतिको समिक्षा गरिएको हो ।
समिक्षा कार्यक्रममा नगरपालिकाका सम्पूर्ण शाखाहरुले आफ्नो शाखाबाट सम्पादन भएका कार्यहरुको विवरण प्रस्तु गरेका थिए । नगरपालिकामा स्थाई रुपमा दरबन्दी कायम भई कामकाज गर्दै आएका कर्मचारी १ सय ३२ रहेका छन् भने अन्य कर्मचारीलाई कारार सेवामा नियुक्त गरि कामकाज गराइएको आफ्नो समिक्षा कार्यक्रमा प्रस्तुत गरिएको थियो ।
आर्थिक बर्ष २०८१ / ८२ मा टोटल बजेट १ अर्व ४४ करोड ८८ लाख ८२ हजार रुपैयामा १ अर्व १७ करोड ३४ लाख ३२ हजार ४ सात ५४ रुपैया अर्थात ८०.९८ प्रतिशत रकम खर्च गरेको छ। जसमा चालु तर्फ ९१ करोड ५५ लाख ७० हजार ८४ रुपैयामा ७७ करोड ३७ लाख ३३ हजार ६ सय ८४ अर्थात ८४.५ प्रतिशत खर्च भएको छ । यस्तै पुजीगत तर्फ ५३ करोड ३३ लाख १२ हजार ९ सय १६ मध्य ३९ करोड ९६ लाख ९५ हजार ७ सय ७० रुपैया अर्थात ७४.९४ प्रतिशत खर्च भएको देखाइएको छ ।
योजना तथा पूर्वाधार शाखाले प्रस्तु गरेको प्रगति विवरणमा नगरपालिकाले अघिल्लो आर्थिक बर्षमा ६ सय ८६ आयोजना संचालनमा ल्याएको थियो जसमा ६ सय ३५ आयोजना सम्झौता भएर ६ सय १३ आयोजना काम सम्पन्न भएर भुक्तानी समेत भएको छ भने ८ आयोजनाको काम सम्पन्न भएता पनि भुक्तानी बाँकी रहेको र १४ वटा योजना क्रमागत रहेका छन।
नगरपालिकाले अघिल्लो आर्थिक बर्षमा करिव साढे २ किलोमिटर सडक कालोपत्रेको काम गरेको छ भने १ किलोमिटर बढी ग्राभेल सडक, ३० मिटर ढलान सडक, ७ किलोमिटर नालीनिर्माण, ५ सय मिटर वाल निर्माण, ५ सय मिटर इन्टरलक् ब्लक निर्माण र ३० वटा सानाठुला भवन निर्माण तथा मर्मत गरिएको छ। सवै भन्दा मुख्य कुरा अघिल्लो आर्थिक बर्षमा सुरक्षित नागरिक आवास अन्तर्गत नगरपालिकाले ४० घरवार बिहिनालाई घर बनाएर दिएको छ।
नगरपालिकामा व्यक्तिगत घतानादर्ता १६ हजार ६ सय ९३ दर्ता भएका छन । जसमा सबैभन्दा बढी जन्मदर्ता ७ हजार ४ सय ४८ रहेको छ भने मृत्यु २ हजार ५५, विवाह ३ हजार ५ सय ४७, बसाईसराई ३ हजार ३ सय ५६ (आएको २ हजार २ सय ६० र गएको ९ सय ९६) र सम्बन्ध बिच्छेद २ सय ८७ रहेको छ।
स्वास्थ्य शाखाले प्रस्तुत गरेको प्रगति विवरणमा पूर्णखोप सुनिश्चित नगरपालिका घोषणा भएको, निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको, छाम्लिङ्गमा आधारभूतसेवा केन्द्र स्थापना गरेको ग्रामिण अल्ट्रा साउण्ड कार्यक्रम संचालन गरेको, क्षयरोग मुक्त अभियान संचालन गरेको, डेंगु नियन्त्रणक लागि खोज र नष्ट गर अभियान सनाचालन गरेको र ३ स्थानमा स्वास्थ्य शिविर संचालन गरिएको प्रगतिमा देखाइएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले आफ्नो थप उपलब्धीमा नगरपालिका मार्फत जिल्ल्ला अस्पताल आवश्यक जनशक्ति सहित करिव १ करोड बराबरको आर्थिक सहयोग गर्दै आएको प्रगतिमा उल्लेख छ।
शिक्षा, युवा तथा खेलकुद शाखाले स्थानीय पाठ्यपुस्तक निर्माण गरेको, सस्थागत विद्यालयको शुल्क निर्धारण गरेको, मेयर रनिङशिल्ड प्रतियोगिता संचालन गरि सवै विधालाई समेटेको, प्रत्यक हप्ताको शुक्रबारलाई बुक फ्री डे घोषणा गरि सिर्जनात्मक क्रियाकलाप संचालन गर्ने गरेको आफ्ना उपलब्धी देखाएको छ।
लघु उद्यम बिकास शाखाले प्रस्तुत गरेको प्रगति विवरणमा २ सय ४० युवा युवतीलाई उद्यमशिलता सम्बन्धी तालिम दिएको जनाएको छ। जसमा सिप बिकास, एडभान्स सिप बिकास, उद्यमशिलता बिकास, लघुउद्यमी सिर्जना, व्यबसायीक सिपमुलक तालिम रहेका छन। जसमा २२ जनालाई तालिम प्राप्त हरुलाई प्रविधी हस्तान्तरण गरिएको छ ।