कोरोनाका कारण संसारका १ अर्ब ७० करोड जनता लक-डाउनमा

Logo
मंगलबार, चैत्र ११, २०७६

आज मंगलबारदेखि हामी ‘लक–डाउन’ मा छौं। कोरोना भाइरस संक्रमण फैलिन नपाओस् भनेर सरकारले अत्यावश्यकीय सेवाबाहेक सबै किसिमका सवारी आवागमनमा रोक लगाएको छ। मान्छेको हिँडडुलसमेत बन्द छ।

यसरी ‘लक–डाउन’ मा बस्ने हामी मात्र होइनौं। बेलायती अखबार ‘द गार्डियन’ का अनुसार संसारका पाँचमध्ये एक जना व्यक्ति लक–डाउनमा छन्। संक्रमणबाट बच्न शारीरिक दुरी कायम राख्नुपर्ने हुँदा विभिन्न मुलुकमा मान्छेलाई घरभित्रै बस्न आह्वान गरिएको छ।

मंगलबारसम्म संसारभरि कम्तिमा ३७८,६७९ जनामा कोरोना भाइरस पुष्टि भएको छ भने १६,५०० भन्दा बढीको ज्यान गएको छ। दस लाखभन्दा बढी बिरामी निको भएका छन्।

संक्रमण फैलिने क्रम नियन्त्रण गर्न संसारका १ अर्ब ७० करोड जनता आ–आफ्नै घरमा ‘लक–डाउन’ रहेको गार्डियनले जनाएको छ। यो विश्व जनसंख्याको २० प्रतिशत हो।

यस क्रममा पछिल्लोचोटि मंगलबार बिहान ६ बजेबाट नेपालले यो आदेश जारी गरेको हो। बेलायतको अवस्थामा पनि नेपालको जस्तै छ।

बेलायतमा सोमबार मध्यरातबाट लक–डाउन सुरू भएको छ। मान्छेहरूको जमघट र पार्कमा निस्केर व्यायाम गर्न रोक लगाइएको छ। यसलाई कडाइसाथ पालना गर्न सहरभरि सुरक्षाकर्मी परिचालन गरिएका छन्। अत्यावश्यक सेवा बाहेकका पसल, खेलकुद मैदान, पुस्तकालय लगायत सबै सार्वजनिक स्थल बन्द गरिएको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले टेलिभिजन सम्बोधनमा बताएका छन्।

उनले अत्यावश्यक खानेकुरा र औषधि किन्नबाहेक अरू कुनै पनि कामका लागि बाहिर ननिस्कन सर्वसाधारणलाई आह्वान गरेका छन्। दिनको एकचोटि शारीरिक व्यायाम गर्नुपर्ने हो भने एक्लाएक्लै गर्न भनिएको छ। ‘जरूरी काम पर्दाबाहेक अरू अवस्थामा घरैभित्र बस्नुहोला,’ उनले भने।

चीनले हुबेईका अन्य भागमा बुधबारपछि निषेधाज्ञा हटाए पनि वुहानमा अझै दुई साता (अप्रिल ८ सम्म) जारी राख्ने भएको छ। त्यहाँ जनवरी २३ बाट लक–डाउन सुरू भएको हो।

उता, अमेरिकामा करिब ४० प्रतिशत जनसंख्या सरकारी निगरानीमा छन्। अमेरिकामा अहिलेसम्म ५५७ जनाको मृत्यु भएको छ भने ४४ हजारमा भाइरस संक्रमण फेला परेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही साताभित्रै अमेरिकी अर्थतन्त्र चालू हुने अपेक्षा गरेका छन्। ‘अमेरिका सट–डाउन हुने देश होइन,’ उनले भने, ‘यो देश त्यसको निम्ति बनेकै होइन।’

उनले कोरोना भाइरस संक्रमणको निम्ति एसियाली अमेरिकीहरूमाथि दोष नलगाउन पनि आह्वान गरेका छन्। एक दिनअघि मात्र उनले पत्रकार सम्मेलनमा कोरोना भाइरसलाई दुईचोटि ‘चिनियाँ भाइरस’ भनेका थिए।

अमेरिकामा सबभन्दा बढी संक्रमण फैलिएको न्यूयोर्कमा अहिलेसम्म २०,८७५ जनामा भाइरस पुष्टि भएको छ। यहाँ ८४ लाख मान्छे बस्छन्। सोमबार मात्र ५,७०७ जना नयाँ व्यक्तिमा भाइरस देखिएको थियो। अहिलेसम्म करिब सय जनाको मृत्यु भइसकेको छ।

तीव्र रूपले संक्रमण फैलिएको इटालीमा भने लगातार दोस्रो दिन मृत्युदर घटेको छ। आइतबार यहाँ ६५१ जनाको मृत्यु भएको थियो भने सोमबार यो संख्या ६०१ छ। त्यसअघि शनिबार पनि ६५१ जनाको ज्यान गएको थियो। नयाँ बिरामी संख्या पनि शनिबारको ६,५५७ को तुलनामा सोमबार ४,४८९ मा झरेको छ।

अस्ट्रेलियामा पनि विभिन्न प्रान्तले आ–आफ्नो सीमा बन्द गरेका छन्। यहाँ आठ जनाको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।