उदयपुर । त्रियुगा नगरपालिकामा भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण सुरु गरिएको छ । नगरपालिकाको वडा नं. ३ र ५ का २७ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो ।
त्रियुगा नगरपालिकाको आयोजनामा आयोजित कार्यक्रममा जिल्ला भूमि समस्या समाधान समिति, उदयपुरले वडा नं. ३ का १३ र वडा नं. ५ का १४ गरी २७ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको हो ।
त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतका अनुसार यसअघि नै जग्गाधनी प्रमाणपुर्जा तयार भएर आएको भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले तत्कालीन जिल्ला भूमि समस्या समाधान समिति विघटन गरी जिल्ला प्रशासन कार्यालयमा जिम्मेवारी पठाएपछि वितरण प्रक्रियामा केही ढिलाइ भएको थियो ।
नगर प्रमुख बस्नेतले यसअघि नै भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने उद्देश्यले नगरपालिकाभरिका करिब १६ हजारभन्दा बढी घरपरिवारको जग्गासम्बन्धी विवरण संकलन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ९ हजार ५०० भन्दा बढी घरपरिवारलाई जग्गाको चारकिल्ला स्पष्ट भएको आधिकारिक निस्सा प्रदान गरिसकिएको छ ।
लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयवासीले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेसँगै कानुनी रूपमा जग्गाधनी बन्ने अवसर पाएका छन् ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गरी उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने उद्देश्यअनुरूप लालपुर्जा वितरण प्रक्रियालाई निरन्तरता दिइने नगर प्रमुख बस्नेतले बताउनुभयो ।