के हो भाइरस ?

Logo
शरदचन्द्र पौडेल मंगलबार, चैत्र ११, २०७६

सामाजिक दूरी कायम गर्नुपर्छ। रोग प्रतिरोध क्षमता कम भएका बूढाबूढी र विभिन्न रोग लागेकालाई त मानिससँगको सम्पर्कबाट बचाउनैपर्छ।

सामाजिक सञ्जालमा सक्रिय भाइरल शब्दसँग सम्बन्धित भाइरस विगत तीन महिनादेखि हरेक नेपालीले धेरै सुनेको शब्द हो। नेपालमा मात्र होइन, विश्वभर भाइरसको चर्चा छ। यस सन्दर्भमा भाइरसबारेमा चर्चा गर्नु समिचीन हुन्छ।

सन् २०१९ को अन्त्यतिर चीनको वुहान सहरमा नियोनियाका बिरामीमा एक नयाँ किसिमको भाइरस फेला पर्‍यो। श्रीपेचजस्तो देखिने यसलाई नोवल कोरोना भाइरस नाम दिइयो। यसबाट संक्रमितमा रुघा–खोकी लाग्ने, ज्वरो आउने, श्वासप्र्रश्वासमा गाह्रो हुने र निमोनियासम्मका लक्षण देखियो। यो संक्रमण सामान्य रहेन। नयाँ र उपचारका साधन नभएकाले निमोनियाका कारण मर्नेसम्मको अवस्था आयो।

कोरोना भाइरस बितेको तीन महिनाभन्दा कम अवधिमा संसारका १६६ भन्दा बढी देशमा फैलिइसकेको छ। वुहानलाई केन्द्रविन्दु बनाएर सुरु भएको भइरसको प्रकोपबाट आजसम्म (मार्च १८) दुई लाखभन्दा बढी बिरामी भएका छन् भने आठ हजारभन्दा बढीले ज्यान गुमाएका छन्। सामाजिक सञ्जालकै भाषामा कोरोना भाइरस भाइरल भएको छ।

भाइरसको सक्रमणबाट बच्न धेरै राष्ट्रले अरू राष्ट्रको सम्पर्कबाट अलग्गिँदै नागरिकलाई पनि अरू मानिसको संसर्गमा आउन नदिन आम लक डाउन गरिरहेका छन्। नागरिकका स्वतन्त्रता राज्यले हरण गरेको छ। उत्तम स्वास्थ्य सुविधा पनि मानिस बचाउन पर्याप्त भएको छैन। सेवा र वस्तु आपूर्ति विश्वव्यापी सञ्जाल बिग्रिएको छ। अत्यावश्यक सामानको अभाव बढ्दै गएको छ। मानिस बढी स्वार्थी हँुदै गएका छन्। संसारका स्टक बजार खस्किएका छन्। अर्को आर्थिक मन्दीको भविष्यवाणी भइरहेको छ। मानिसमा यसअघि कहिल्यै नदेखिएको हतास अवस्था व्याप्त भएको छ।

भाइरस के हो ?

भाइरस एकदमै सूक्ष्म जीवाणु हो। यो आँखाले नदेखिने ब्याक्टेरियाभन्दा धेरै गुना सानो हुन्छ। सानो भएरै सन् १९३१ मा शक्तिशाली इलेक्ट्रोन माइक्रोसकोपको आविष्कारपछि मात्रै मानिसले यसलाई देख्न सकेका हुन्। भाइरस न्युक्लिक एसिडका टुक्रा र प्रोटिनबाट बनेको हुन्छ। न्युक्लिक एसिड धेरै न्युक्लियोटाइड जोडिएर बनेको हुन्छ।

वैज्ञानिक न्युक्लियोटाइडलाई नै जीवन सृष्टिको आधार मान्छन्। उनीहरू लाखौं वर्षअघि पानीमा रहेका तŒवको घोलमा सूर्यको किरण परेर यो बनेको विश्वास गर्छन्। न्युक्लियोटाइडको झुन्ड एक ठाउँमा जम्मा भएर न्युक्लिक एसिड बन्दछ। न्युक्लिक एसिडले आफू दुरुस्त अर्को न्युक्लिक एसिड बनाउन सक्ने खुबी हुन्छ।

कोष जीव निर्माणको आधार हो। कोषभित्र गोलो एक न्युक्लियस हुन्छ। न्युक्लियसमा क्रोमोजोम हुन्छ। क्रोमोजोम न्युक्लियोटाडको चेन आपसमा बटारिएर बनेको अुन्छ। यसलाई डीएनए भनिन्छ। न्युक्लिक एसिड न्युक्लियसबाहिर पनि हुन्छ। यसलाई आरएनए भनिन्छ। मानिस लाखौं–करौडौं कोष मिलेर बनेको हुन्छ। मानिसलगायत सबै प्राणीमा कोष बन्ने, भत्किने र मर्ने क्रम चलिरहन्छ। कन्याउँदा वा कोट्याउँदा सयौं कोष शरीरबाट छुट्टिएर टुक्रिएर जान्छन्। यसबाट कोषको न्युक्लिक एसिड र प्रोटिनको टुक्रा यत्रतत्र छरिन्छ। त्यसकारण भाइरस प्राणी मात्रको उत्पादन हो।

रोग प्रतिरोध क्षमता कायम राख्न र बढाउन राम्रो र सन्तुलित खाना खाने, पर्याप्त सुत्ने, चिन्ता नलिने, शारीरिक अभ्यास गर्ने आदि गर्नुपर्छ। संक्रमणबाट बच्न मानिस—मानिसबीचको निकटपन र सम्पर्कलाई पन्छाउनुपर्छ।

भाइरस परजीवी हो। स्वतन्त्ररूपमा यो निष्क्रिय हुन्छ। भाइरसको न्युक्लिक एसिड होस्टको कोषमा भएको रसबाट मात्र सक्रिय हुन्छ। सक्रिय हुँदा भाइरसले एकबाट दुई, दुईबाट चार गरी ज्यामितीय हिसाबले छोटो समयमा प्रशस्त आफूजस्तै अरू भाइरस बनाउँछ। यसरी छिटो फैलिएपछि नै संक्रमणको लक्षण देखिन्छ। भाइरसले कोषको चिज प्रयोग गर्दै बढ्दै जाँदा होस्टको कोषले सामान्य काम गर्न सक्दैन। जति धेरै भाइरस बन्छ उति नै होस्टलाई असजिलो हुन्छ। कोरोनाको होस्ट मानिस हो। मानिसको पनि फोक्सोको कोष यसको वृद्धिको लागि रोग के हो र कसरी लाग्छ ?

शरीरका कामकारबाही वा बनौटमा देखिने असामान्य अवस्था रोग हो। सामान्यतया बाहिरका जीवाणु भित्र पसेर खराबी उत्पन्न गर्‍यो भने वा शरीरकै कोषले काम गर्न छाडेमा वा अर्को काम गर्न थालेमा रोग लाग्छ। कोरोनाको संक्रमण पहिलो अवस्था हो भने डायबिटिज कोषले काम गर्न छाडेको र क्यान्सर कोषले अर्को काम गरेको अवस्था हो।

शरीरमा कुनै पनि रोग उपचार गर्ने क्षमता निहित हुन्छ। जीवाणु प्रवेश गरेर वा कोषमा विकृति उत्पन्न भएर हुने खराबीविरुद्धको औषधि सबैभन्दा पहिला शरीरले नै उत्पादन गर्छ। रगतमा यस्तो औषधि पहिल्यैदेखि नै हुन्छ वा नभएमा बन्न थाल्छ। यसलाई एन्टिबडी भनिन्छ। विभिन्न माध्यमबाट हरेक पल शरीरमा विभिन्नथरीका जीवाणु प्रवेश गरिरहेका हुन्छन् भने कोषमा पनि विकृति उन्पन्न भइरहेको हुन्छ।

अधिकांश अवस्थामा रगतमा भएको वा बन्ने एन्टिबडीका कारण शरीरलाई केही हँुदैन। कतिपय अवस्थामा त पछि नयाँ जीवाणु पसेर असर गर्ला भनेर सीमित मात्रामा जीवाणु शरीरमा प्रवेश गराएर यस्तो एन्टिबडी अग्रिम रूपमा निर्माण गरिन्छ। खोप यही हो। शरीरको लड्न सक्ने क्षमताले नभ्याउने भयो वा क्षमता कमजोर भयो वा क्षमता नै भएन भने मात्र रोग लाग्ने हो।

संक्रमण र महामारीकै हो ?

संक्रमण भनेको बाहिरबाट प्रवेश गरेको जीवाणुले शरीरमा प्रभाव देखाउने हो। यस्तो संक्रमण एक मानिस वा प्राणीमा भएको जीवाणु अर्को मानिसमा सरेर हुने संक्रमणलाई सरुवा रोग भनिन्छ। जब यसरी सर्ने काम धेरै र छिटोछिटो र सजिलै हुन्छ तब यसले महामारीको रूप लिन्छ। एक भौगोलिक क्षेत्रमा सीमित धेरै संक्रमणलाई महामारी भनिन्छ। सर्ने गति बढेर एक देशको अनेक ठाउँ वा देशबाहिर फैलिन्छ तब पान्डेमिकको अवस्था भनिन्छ। धेरै देशमा फैलिएर कोरोनाले पान्डेमिकको रूप लिएको छ। औषधि र खोप दुवै नभएको कोरोनाले पान्डेमिकले भयावह रूप लिएको छ। इतिहासमा धेरै मानिसको मुत्यु यस्तै सरुवा रोगबाट भएको पाइन्छ। सरुवा रोगको विशेषता के हो भने यसले धनी र गरिब केही भन्दैन।

उपचार के हो ?

रोगको उपचार विभिन्न तरिकाले गरिन्छ। शरीरको प्रतिरोध क्षमता बढाएर बाहिरको जीवाणुलाई परास्त गर्न खोप लगाइन्छ। शरीरभित्र प्रवेश गरेकोलाई केमिकल प्रयोग गरेर मारिन्छ। ब्याक्टेरियालाई एन्टिबायोटिक्सले मार्छ। कोषले गर्न थालेको असाधारण व्यवहार रोक्न वा फैलिन नदिने धेरै किसिमका उपाय गरिन्छ। केमोथेरापी, रेडियोथेरापी वा शल्यक्रिया क्यान्सरका यस्ता विधि हुन्।

 रोकथाम के हो ?

रोकथाम भनेको रोग नै लाग्न नदिने हो। रोगका जीवाणुलाई आफ्नो शरीरमा पस्नै नदिने वा पसिहाले पनि शरीरको प्रतिरोध क्षमताले त्यसलाई निष्क्रिय पार्ने हो। शरीरमा पस्न नदिने कुरा व्यक्तिगत सरसफाइ र सर्ने माध्यमलाई पन्छाएर वा नष्ट गरेर हासिल गरिन्छ भने प्रतिरोध क्षमता खोप लगाएर र शरीरलाई स्वस्थ राखेर हासिल गरिन्छ। उपचारभन्दा रोकथाम कम प्रभावकारी छैन।

दादुराविरुद्धको खोपबाट १२ करोड, पानी क्लोरिनेसन गरेर खाँदा १८ करोड मानिस बचेका थिए। जबकि पेनिसिलिन औषधिको आविष्कारबाट आठ करोड बचेका थिए। भ्याक्सिन र औषधिभन्दा पनि पानी उमालेर खाने, हात धुने, चर्पीमा दिसापिसाब गर्ने, बच्चालाई आमाको दूध खुवाउनेजस्ता सस्तो तरिकाले पनि करोडौं मानिसको जीवन बचाउन सकिएको अर्थशास्त्री डेटनको भनाइ छ।

कोरोनामा के गर्ने ?

कोरोनाको संक्रमण सरुवा रोग हो। निरोगी मानिसमा भाइरस पस्नेबित्तिकै एकदम धेरै फैलिन्छ र निमोनिया गराउँछ। नयाँ जातिको भाइरस भएकाले यसको न खोप छ न त औषधि नै। यसबारेमा धेरै कुरा जान्न बाँकी नै छ। यसविरुद्ध लड्ने भनेको शरीरको प्रतिरोध क्षमतालाई नै उपयोग गर्ने हो। प्रतिरोध क्षमता बढी भएकामा यसको प्रभाव कम र क्षमता कम भएकामा प्रभाव पनि गम्भीर र मृत्युको सम्भावनासमेत हुन्छ। बूढाबूढी र विभिन्न रोगबाट पीडितको मुत्युदर बढी हुनुको कारण यही हो।

खोप वा औषधि नबन्दासम्म यसबाट बच्ने उपाय भनेको संक्रमणको सम्भावनालाई कम गर्ने हो। बढी भएकाको प्रतिरोध क्षमता कायम राख्ने, कम भएकाको बढाउने र कम भएका र बढाउने सम्भावना पनि नभएकालाई संक्रमण नै हुन नदिने हो। रोग प्रतिरोध क्षमता कायम राख्न र बढाउन राम्रो र सन्तुलित खाना खाने, पर्याप्त सुत्ने, चिन्ता नलिने, शारीरिक अभ्यास गर्ने आदि गर्नुपर्छ।

संक्रमणबाट बच्न मानिस—मानिसबीचको निकटपन र सम्पर्कलाई पन्छाउनुपर्छ, सामाजिक दूरी कायम गर्नुपर्छ। रोग प्रतिरोध क्षमता कम भएका बूढाबूढी र विभिन्न रोग लागेकालाई त मानिससँगको सम्पर्कबाट बचाउनैपर्छ। त्यसैगरी जथाभावी जहाँसुकै नछुने, बारम्बार हात धुने र हातले मुखतिर नछोइरहने जस्ता व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ। अहिलेसम्म हामीलाई उपलब्ध तरिका यिनै हुन्।-अन्नपूर्ण पोस्ट

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।