प्रदेश १ सीमामा गौँडैपिच्छे सशस्त्रको अस्थायी चौकी

Logo
रासस बुधबार, चैत्र २६, २०७६

कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउमा भारतबाट हुनसक्ने लुकीछिपी आवतजावतलाई रोक्न झापाको सीमा क्षेत्रमा गौडैपिच्छे सुरक्षा व्यवस्था कसिलो बनाइएको छ ।

भारतसँग खुला सिमाना रहेको झापाको १४४ किलोमिटर क्षेत्रमा सशस्त्र प्रहरी बलले तीन दिनभित्रमा ५८ वटा अस्थायी पोस्ट थप गरेको छ । झापाको सीमा क्षेत्रमा सशस्त्रको आठ वटा स्थायी पोस्ट पहिल्यैदेखि तैनाथ थिए ।

आवतजावत हुने मुख्य गौडाको पहिचान गरी ५८ वटा नयाँ स्थानमा पाल टाँगेर अस्थायी पोस्ट खडा गरी सीमा सुरक्षालाई सुदृढ तुल्याइएको सशस्त्र प्रहरी बल २ नम्बर हेडक्वाटर भद्रपुरका सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सुले राससलाई बताउनुभयो ।

लकडाउन उल्लङ्घन गर्दै सीमा क्षेत्रमा हुनसक्ने चोरी–तस्करी, लागुऔषधको कारोवार, अनाधिकृत प्रवेशलाई रोक्न सशस्त्र प्रहरी बल सक्षम रहेको उहाँले बताउनुभयो ।

भारतको विहार र पश्चिम बङ्गाल प्रान्तमा कोरोना सङ्क्रमणबाट मृत्युसमेत भइरहेको अवस्थामा खुला सीमाबाट हुने लुकीछिपी आउजाउले कोरोना भाइरस फैलिने जोखिम भएका कारण त्यसलाई रोक्न नेपाल सरकारको निर्देशनबमोजिम सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा ध्यान केन्द्रित गरेको उहाँले बताउनुभयो ।

झापाको उत्तरी सीमा पश्चिम बङ्गालको दार्जीलिङ जिल्लासँग जोडिएको छ भने भद्रपुरदेखि गौरीगञ्जसम्मको सीमा क्षेत्र विहारको किसनगञ्ज जिल्लासँग जोडिएको छ । सशस्त्र प्रहरी बलका २५० भन्दा बढी सुराक्षाकर्मी पहिल्यैदेखि सीमा सुरक्षामा तैनाथ थिए भने अहिले सयभन्दा बढी जनशक्ति थप परिचालन गरिएको छ ।

लकडाउन र नाका बन्द भएयता झापाको बाहुनडाँगी, भद्रपुर, केचना, गौरीगञ्ज, टाघनडुब्बालगायतका सीमा क्षेत्रबाट २६ व्यक्ति अनधिकृत रुपमा नेपाल प्रवेश गरेको फेला परेको छ । उनीहरुलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको झापा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

“दक्षिणी सीमा क्षेत्रमा वारिपारि नै मकैबारी बढेका कारण लुकीछिपी प्रवेश गर्नेहरुले फाइदा उठाउन खोजेका छन्,” प्रहरी उपरीक्षक कोइराला भन्नुहुन्छ, “स्थानीय समुदाय सजग भएकाले भारतबाट प्रवेश गर्नेलाई पक्रेर उनीहरुले प्रहरीलाई खबर गर्न थाल्नुभएको छ ।”

लकडाउन र नाका बन्द हुँदा लागुऔषधका प्रयोगकर्ता र कारोवारीहरुसमेत सीमा क्षेत्रमा सलबलाउन थालेका छन् । काठमाडौँबाट नक्कली डाक्टर बनेर कार चढेर आएका दुई युवालाई काँकडभिट्टा इलाका प्रहरी कार्यालयले केही दिन अघि पक्राउ गरेर क्वारेन्टाइनमा राखेको छ । उनीहरु लागुऔषधको खोजीमा काँकडभिट्टा नाका आएका हुन् ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]