काठमाडौं : कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सङ्ख्यात्मक रुपमा परीक्षण बढाउने निर्णय गरेको छ ।
समितिको आज सिंहदरबारमा बसेको १९औँ बैठकले कोरोना भाइरस सङ्क्रमणको अवस्था जोखिमयुक्त भएको र त्यसको दर पनि बढ्दै गएको हुनाले परीक्षणलाई तीव्रता दिने निर्णय गरेको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १६ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । हालसम्म १५ हजार बढीको र्यापिड डाइग्नोष्टिक टेस्ट र स्वाब परीक्षण गरिसकिएको छ ।
बैठकले अतिआवश्यक सामान आपूर्तिलाई सहज राख्ने र सुरक्षा व्यवस्थामा कडाइ गर्ने व्यवस्थालाई समन्वयात्मक ढङ्गले सामान ढुवानीमा कतै अवरोध नगर्ने गरी भन्सार नाकामा सहज र सुरक्षित गर्ने निर्णयसमेत गरेको छ ।
यस्तै सरकारले गरेको लकडाउन उल्लङ्घन गर्ने व्यक्तिलाई प्रहरी प्रशासनले कडाइ गरी थुनामा राख्नेसम्मको कारवाही गर्ने बैठकले निर्णय गरेको छ।
अनावश्यक आवागमन गर्ने व्यक्तिलाई कडा निगरानी गर्ने र सङ्क्रमणलाई फैलन नदिन लकडाउनलाई प्रभावकारी कार्यान्वयन गर्नमा अवरोध गर्नेलाई थुनामा राख्ने बैठकले निर्णय गरेको छ । कसुरमा कारवाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई रहेको छ ।
सङ्क्रामक रोग ऐन, २०२० अनुसार लकडाउनको अवज्ञा गर्ने व्यक्तिलाई न्यूनतम एक महिनासम्म कैद वा रु १०० सम्म जरिवाना वा दुवै सजाय हुनेछ । ऐनको उल्लङ्घन गर्नेलाई अधिकतम छ महिनासम्म कैद वा रु ६०० सम्म जरिवाना वा दुवै सजाय हुनेछ ।