गाईघाट, उदयपुर। हरित जलवायु कोष, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र त्रियुगा नगरपालिकाको साझेदारीमा त्रियुगा नगरपालिकाका विभिन्न वडामा सुधारिएको चुल्हो वितरण गरिएको छ।
परियोजनाअन्तर्गत बजार मूल्य करिब ६ हजार रुपैयाँ पर्ने सुधारिएको चुल्होलाई नगरपालिकाको १५ प्रतिशत र उपभोक्ताको ५ प्रतिशत लागत साझेदारीमा वितरण गरिएको हो।
नगरपालिकाका १६ वडामध्ये १५ वटामा गरी कुल ४ सय वटा सुधारिएको चुल्हो वितरण गरिएको छ। वितरणका क्रममा वडा नं. १० मा सबैभन्दा बढी १ सय १५ वटा चुल्हो वितरण गरिएको छ भने वडा नं. १४ मा सबैभन्दा कम ३ वटा मात्रै वितरण गरिएको छ। वडा नं. ६ मा भने यस कार्यक्रमअन्तर्गत एक वटा पनि सुधारिएको चुल्हो वितरण हुन सकेन।
सुधारिएको चुल्होले दाउराको खपत घटाउने, धुवाँ कम गर्ने, घरभित्रको वायु प्रदूषण न्यून गर्ने, महिलाको स्वास्थ्य संरक्षणमा सहयोग पुर्याउने तथा वातावरण संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
यस अवसरमा त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले नगरपालिकाले वातावरण संरक्षणसँगै नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर सुधारिएको चुल्हो वितरण कार्यक्रम सञ्चालन गरेको बताउनु भयो । आगामी दिनमा यस्ता वातावरणमैत्री कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै आवश्यकताका आधारमा अन्य घरधुरीमा समेत विस्तार गरिने उहाँले उल्लेख गर्नु भयो ।
उपमेयर महेश्वरी राईले सुधारिएको चुल्होले विशेषगरी ग्रामीण क्षेत्रमा महिलाको दैनिक जीवन सहज बनाउने, इन्धनको बचत गर्ने र घरभित्रको धुवाँका कारण हुने स्वास्थ्य समस्यामा कमी ल्याउने विश्वास व्यक्त गर्नु भयो । उहाँल कार्यक्रमको प्रभावकारिता बढाउन लाभग्राहीले चुल्होको सही प्रयोग र संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिनु भयो ।