उदयपुर – मुलुकभर कोरोना संक्रमणको ग्राफ बढ्दो क्रममा छ। हाल देशभर कोरोना संक्रमितको संख्या ३० पुगेको छ जस मध्ये एक जना निको भएर घर फर्की सकेका छन्। हिजो मात्र उदयपुरमा १२ र चितवनमा २ गरि १४ जनामा संक्रमणको पुष्टि भएको छ।
एकै जना पनि संक्रमित नभएको प्रदेश एकमा पहिले देखिनै कोरोना संक्रमण रोक्न पहल भएको बताइए पनि एकै पटक उदयपुरमा १२ जना कोरोना संक्रमित पाइए पछि देशकै सबैभन्दा धेरै कोरोना संक्रमित भएको जिल्लाको रुपमा उदयपुर चिनिएको छ।
उदयपुरको त्रियुगा नगरपालिका–३, भुल्केस्थित मस्जिदमा बसेका १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरु सहित अन्य ४ जनालाई पनि बिराटनगर पठाइएको छ ।
मध्य पहाडी लोकमार्गले छुने उदयपुर जिल्लामा शिक्षण अस्पताल बनाउन उचित हावापानी सहितको ठाउ भएकोले यहाँ शिक्षण अस्पताल बन्नु पर्ने र आवस्यक रहेको औल्याउदै आइएको छ। तर हालका दिन सम्म पनि यसको बारेमा काम अघि बढेको छैन।
डा. गोबिन्द केसीले स्वास्थ्य क्षेत्रको सुधार लगायत उदयपुरमा शिक्षण अस्पताल बनाइनु पर्ने माग सहित पटक-पटक अनसन बसे तर सरकारले उनलाई बेवास्ता गर्यो। आज उदयपुरमा १२ जना एकै पटक कोरोना संक्रमित भेटिदा उदयपुरमा शिक्षण अस्पताल लगाएत कोरोना अस्पतालको खाचो खड्किएको छ।
विश्वमा कोरोनाको संक्रमण बढ्ने क्रम रहदा उदयपुरको गाईघाटमा रहेको जिल्ला अस्पतालाई कोरोना अस्पताल बनाउने हल्ला चलाए पनि कुनै सुरक्षा सुबिधा नहुदा अघि बढ्न सकेको थिएन। केही समय अगाडी सिनेमाको भुत घर जस्तो देखिने उदयपुर जिल्ला अस्पताल केही स्थानीय युवाको सक्रियतामा सुधार ल्याउने प्रयास गरेपनि कोरोना अस्पाताल बानाउने अवस्थामा आइ पुगेन।
शिक्षण अस्पताल र कोरोना अस्पताल बनाउने भनेर छानिएको जिल्ला उदयपुरका जनता कोरोना संक्रमणको उच्च चपेटामा पर्दा परिक्षण गराउन समेत पाईरहेका छैनन्। आज उदयपुरका नागरिकले कोरोनाको संक्रमणलाई नजिक बाट देखेर आङ्ग सिरिङ्ग बनाउदै बस्नु पर्ने अवस्था छ।
तत्कालको समस्यालाई टार्न त्रियुगा नगरपालिकाले भने बिज्ञ बोलाएर कोरोना परिक्षण जिल्लामै गर्ने ब्याबस्था मिलाउने तयारी गरिरहेको मेयर बलदेब चौधरीले बताएका छन। संक्रमित व्याक्तिहरुको नजिक आएका कसैले पनि आफै आएर आफ्नो परिक्षण गराउन मेयर चौधरीले अपिल समेत गरेका छन्।