वामदेवलाई प्रधानमन्त्री बनाउने भए ओलीले राजीनामा गरेर मार्ग प्रसस्त गर्नुपर्ने प्रचण्ड-नेपालको निष्कर्ष

उपाध्यक्ष गौतमले थाले कानुन व्यवसायीसँग छलफल
Logo
शनिबार, बैशाख २०, २०७७

नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने भए प्रधानमन्त्री ओली राजिनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने निष्कर्ष निकालेको छ।

शनिबार हुने सचिवालय बैठकका लागि रणनीति तय गर्न कोटेश्वरस्थित नेपाल निवासमा शुक्रबार भएको छलफलले यस्तो निष्कर्ष निकालेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको सचिवालय बैठकमा कोरोना महामारी सकिएपछि उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री र नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउने प्रस्ताव ल्याएका थिए। उक्त प्रस्ताव असल नियतले नआएको प्रचण्ड-नेपाल पक्षको विश्लेषण छ।

‘यसअघि वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने भनेर पार्टी सचिवालयले गरेको निर्णय त प्रधानमन्त्रीले कार्यान्वयन गर्नुभएन, अब यो प्रस्ताव कार्यान्वयन हुन्छ भनेर कसरी पत्याउने?’ बैठकमा सहभागी एक नेताले भने, ‘उहाँको चाहना वामदेवलाई प्रधानमन्त्री बनाउने नै हो भने भोलिको बैठकमा राजीनामा दिनुपर्छ, अनि वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव स्थायी समितिमा ल्याउनुपर्छ।’

शनिबार बस्ने सचिवालय बैठकमा स्थायी समिति बैठक डाक्नुपर्ने एजेन्डालाई आफूहरूले प्रमुख रूपमा उठाउने समिति सदस्य युवराज ज्ञवालीले बताए।

कोटेश्वर भेलामा वरिष्ठ नेता नेपालका साथै स्थायी समिति सदस्यहरू भीम रावल, युवराज ज्ञवाली, रघुजी पन्त, अष्टलक्ष्मी शाक्य, घनश्याम भुषाल, गोकर्ण विष्ट लगायत उपस्थित थिए।

बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर अर्का अध्यक्ष प्रचण्ड पनि सिधै कोटेश्वर पुगेका थिए। प्रचण्डले प्रधानमन्त्रीसँगको कुराकानी फलदायी हुन नसकेको जानकारी नेताहरूलाई गराएका थिए।

प्रचण्डसँगको छलफलपछि प्रधानमन्त्री ओलीले पनि बालुवाटारमा आफूनिकट नेताहरूसँग छलफल गरेका थिए। पार्टीभित्र विवाद बढ्दै गएपछि प्रधानमन्त्रीनिकट मुख्यमन्त्रीहरूसमेत काठमाडौं आएका छन्।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई शुक्रबार बालुवाटार पुगेका थिए। उनीहरूसँगै नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल सहभागी थिए।

‘प्रधानमन्त्रीले पार्टीभित्रको विवाद मिलाउन निरन्तर पहल गरिरहनुभएको छ। कहिले प्रचण्ड, कहिले माधव नेपाललाई भेट्नुभएको छ। आज हामीसँग छलफल गर्नुभएको हो,’ भेटमा सहभागी एक नेताले भने, ‘प्रधानमन्त्रीले बुधबारकै सचिवालय बैठकमा राखेको प्रस्ताव शनिबार लैजानुहुन्छ। त्यसैमा थप छलफल हुन्छ होला।’

प्रचण्डले पनि आफूनिकट स्थायी समिति सदस्यहरूसँग छलफल गरेको उनीनिकट एक नेताले बताए। भेटमा नेताहरूले स्थायी समिति बैठक बोलाउनुको विकल्प नरहेको र प्रधानमन्त्रीले वामदेवबारे प्रस्ताव ल्याउनु रहस्यमय रहेको बताएका थिए।

त्यस्तै, उपाध्यक्ष गौतमले आफूनिकट केही कानुन व्यवसायीसँग छलफल गरेको उनीनिकट स्रोतले जानकारी दियो। स्रोतका अनुसार गौतमले प्रचण्ड-नेपालसँग पनि छलफल गरिरहेका छन्।

उपाध्यक्ष गौतम अहिले पनि प्रधानमन्त्रीको प्रस्तावबारे अन्यौलमै रहेको उनीनिकट एक नेताले बताए। ती नेताका अनुसार गौतमले शनिबारको सचिवालय बैठक कुरेका छन्। ‘प्रधानमन्त्रीले अस्तिको बैठकमा राखेको प्रस्ताव भोलिको बैठकमा कसरी अघि बढाउनुहुन्छ, त्यो कुर्नुभएको छ,’ उनले भने। स्रोत -सेतोपाटी

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।