नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हिजो बुधवार साँझसम्म यो संख्या २ सय ४३ थियो।
बिहान ७:४५ बजे जारी गरेको विज्ञप्तिमा थप ५ जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ सय ५० पुगेको उसले जनाएको हो।
यसअघि आजै बिहान ६:१५ बजे मन्त्रालयले जारी गरेको विज्ञप्तिमा काठमाडौं चन्द्रागिरीका एक पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोनाको संक्रमण पुष्टि भएको थियो।
पछिल्लो समय थपिएका संक्रमितमा ४ पुरुष र एक युवती रहेका छन्। संक्रमितहरूमा सर्लाही धानकौल नगरपालिकाका एक ४५ वर्षिय पुरुष, धनुषा जनकपुर नगरपालिका र मिथिला नगरपालिका निवासी ४० वर्षिय पुरुष र २० वर्षिया युवती रहेको मन्त्रालयले जनाएको छ।
यसैगरी अन्य संक्रमितमा महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका र वलवा नगरपालिकाका १६ वर्षिय युवक र ३५ वर्षका एक पुरुष रहेका छन्। संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।