एजेन्सी । कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ । यो सामाग्री तयार पार्दा सम्म वल्ड्रोमिटरका अनुसार विश्वभर संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ३ लाख ३ हजार ३ सय ५१ पुगेको छ । त्यस्तै विश्वभर संक्रमितहरुको संख्या ४५ लाख २५ हजार १ सय ०३ पुगेको छ ।
अहिलेसम्म विश्वमा कोरोना संक्रमणबाट सबैभन्दा बढी अमेरिकामा ८६ हजार ९ सय १२ जनाको मृत्यु भएको छ भने त्यहाँ संक्रमितहरुको कूल संख्या १४ लाख ५७ हजार ५सय ९३ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा २७ हजार २ सय ४६ जना नयाँ संक्रमित देखिएका छन् भने १ हजार ७ सय १५ जनाको मृत्यु भएको छ ।
त्यस्तै बेलायतमा अहिलेसम्म ३३ हजार ६ सय १४ जनाको मृत्यु भएको छ भने २ लाख ३३ हजार १ सय ५१ जना संक्रमित देखिएका छन् । त्यहाँ पछिल्ला चौबिस घण्टामा ३ हजार ४ सय ४६ जना नयाँ संक्रमित देखिएका छन् भने ४ सय २८ जनाको मृत्यु भएको छ ।
उता, रसिया कूल संक्रमितहरुको संख्यामा संख्या २ लाख ५२ हजार २ सय ४५ रहेको छ भने मृतकको संख्या २ हजार ३ सय ५ रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ९ हजार ९ सय ७४ जना नयाँ संक्रमित देखिए भने ९३ जनाको मृत्यु भएको छ ।
त्यस्तै, स्पेन कूल संक्रमितहरुको संख्यामा अमेरिकाभन्दा दोश्रो स्थानमा रहेको छ । त्यहाँ संक्रमितको संख्या २ लाख ७२ हजार ६ सय ४६ पुगेको छ भने मृत्यु हुनेको संख्या भने कूल २७ हजार ३ सय २१ रहेको छ । पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार ३ सय १७ जनाको मृत्यु भएको छ भने ९६ हजार ३ सय ७१ जना नयाँ संक्रमित फेला परेका छन् । अहिलेसम्म विश्वभर १७ लाख ०२ हजार १ सय ५२ जना संक्रमित बिरामी निको भएर घर फर्किएका छन् ।