संक्रमित धेरै र अवस्था गम्भीर भए कति छन् देशभर आइसियु र भेन्टिलेटर?

Logo
बिहिबार, जेठ ०८, २०७७

कोभिड रोकथाम तथा उपचार गर्न १८ फागुनमा गठन भएको उच्चस्तरीय समितिले ८० दिन पार गरेको छ । त्यस्तै, ११ चैतमा सुरु भएको लकडाउनले पनि दुई महिना छुन खोज्दै छ।

कोभिड बिरामीलाई बचाउने अन्तिम संसाधन भेन्टिलेटर हो, तर यसबीचमा देशभर जम्मा १५ भेन्टिलेटर थपिएका छन् । त्यसमा पनि १२ वटा अरू संस्थाले दिएका हुन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।

सरकारले कोभिड उपचारका लागि जम्मा तीन सय ९६ आइसियू र एक सय ५६ भेन्टिलेटर तयार पारेको छ । आइसियू र भेन्टिलेटर सञ्चालनका लागि तीन सय ८५ स्वास्थ्यकर्मी तयार छन्।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठका अनुसार निक साइमन फाउन्डेसनले १० वटा भेन्टिलेटर सहयोग गरेको छ भने वान हार्टनामक गैरसरकारी संस्थाले दुईवटा दिएको छ । यसबीचमा टेकु अस्पतालले तीनवटा भेन्टिलेटर खरिद गरेको हो।

निक साइमनले दिएका १० भेन्टिलेटरमध्ये दुईवटा बाग्लुङ, दुई बुटवल, दुई सुर्खेत, दुई धनगढी, एउटा वीरगन्ज र एउटा टेकु अस्पतालमा राखिएको छ । त्यस्तै वान हार्टले दिएको दुईमध्ये एउटा विराटनगर र एउटा बाग्लुङ पठाइएको महानिर्देशक श्रेष्ठले बताए । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि सात भेन्टिलेटर किन्ने तयारी गरेको छ । तर, अहिलेसम्म आइसकेका छैनन्।

कान्ति बाल अस्पताल, वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरका २६ भेन्टिलेटर बिग्रिएका छन् । कान्ति बाल अस्पतालमा १०, वीरमा आठ र राष्ट्रिय ट्रमा सेन्टरमा आठवटा भेन्टिलेटर मर्मत गर्नुपर्ने अवस्थामा छन् । तर, यो महत्वपूर्ण चार महिना ती भेन्टिलेटर मर्मत गर्ने काम पनि भएको छैन।

कान्ति बाल अस्पतालका निर्देशक डा.कृष्ण पौडेल भन्छन्, ‘बिग्रिएका १० भेन्टिलेटर मर्मत गर्न २० देखि २५ लाख रुपैयाँ लाग्छ । बीचमा महावीर पुनको टोलीले भेन्टिलेटर बनाउने चर्चा आएको थियो, तर त्यो काम अघि बढेन।’

शिक्षण अस्पताल महाराजगन्जमा ६ र राष्ट्रिय ट्रमा सेन्टरका सातवटा भेन्टिलेटर मर्मत भएका छन् । हाल शिक्षणमा २० र ट्रमा सेन्टरमा १७ भेन्टिलेटर सञ्चालनमा छन् ।

सरकारले कोरोना भाइरस संक्रमितको अवस्था जटिल भएमा आइसियूमा भर्ना गर्नुपर्ने जनाउँदै १५ दिनभित्र उपत्यकामा एक सय २० आइसियू थप्ने गर्ने निर्णय गरेको थियो । टेकुले ४० र अन्य चार अस्पतालले २० बेडका दरले आइसियू थप्ने गरी रकम निकासा पनि भएको थियो । तर, १५ दिनभित्र गर्ने भनिएको काम दुई महिनामा पनि पूरा भएको छैन ।

निर्णय भएको पहिलो साता नै २० बेड आइसियू ल्याएको टेकु अस्पतालले अहिलेसम्म ती बेड सञ्चालनमा ल्याउन सकेको छैन । अस्पतालमा अक्सिजन प्लान्ट नभएका कारण आइसियू जडानमा ढिलाइ भएको हो ।

अस्पतालका प्रशासन प्रमुख रूपनारायण खतिवडा भन्छन्, ‘अक्सिजन प्लान्टको जडानले केही ढिला भएको हो, अब छिटै जडान गर्छौँ ।’ टेकु अस्पतालले ४० बेड आइसियू थप्ने जिम्मेवारी पाएको छ ।

त्यस्तै पाटन अस्पतालले भने नयाँ जडान गर्नुको विकल्पमा पुरानै र नचलेका आइसियूलाई कोभिड उपचारका लागि तयार पारेको छ । ‘सरकारले भनेअनुसार २१ बेड आइसियू तयार पारिएको छ,’ अस्पतालका निर्देशक डा। विष्णु शर्मा भन्छन् ।

यता वीर अस्पतालले भने आइसियू थप्न पाएको १२ करोड ५० लाखमध्ये एक रुपैयाँ पनि खर्च गर्न सकेको छैन । वीरले दुई महिनासम्म खरिद प्रक्रिया पनि अघि बढाएको छैन । अस्पतालका निर्देशक डा। केदारप्रसाद सेञ्चुरी भन्छन्, ‘अब चाँडै नै प्रक्रिया अघि बढाइनेछ ।’

अहिले कोभिडका बिरामीलाई उपचार गर्न देशभरि १६२४ आइसोलेसन बेड तयार छन्। त्यसैगरी ३९६ आइसियू र १५६ भेन्टिलेटर छन्। अहिलेसम्म ४२७ जना संक्रमित देखिएका छन्। जसमध्ये ४५ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]