तीजको मौलिकता हराउदै

Solution Khabar शुक्रबार, भाद्र ०५, २०७७

तीज नेपाली जनजीवनमा विशिष्ट मौलिकता बोकेको महत्वपूर्ण चाड हो। तीज कहिलेदेखि मान्न थालिएको हो भन्ने कुनै तथ्य प्रमाण नभए पनि यससँग धार्मिक पौराणिक प्रसंगहरु जोडिएका छन्।

उहिल्यै हिमालय पर्वतकी छोरी पार्वतीले आफ्नो विवाह आफ्नो इच्छा विपरित भगवान् विष्णुसँग हुन लागेको थाहा पाइन्। सो कुरा आफ्ना संगीलाई बताएपछि संगीको सहयोगमा वनमा गएर लुकिन् र भगवान् शिवलाई पति पाउनको लागि आराधना गर्न लागिन्। संयोगवश भाद्र शुक्ल तृतीयाका दिन शिवलिंगको पूजा गरिरहेको बेला भगवान् शिव प्रकट भई वरदान माग भन्दा पार्वतीले महादेव पति पाउने आफ्नो संकल्प सुनाएपछि शिवजी प्रसन्न भइ संकल्प पूरा हुने वरदान दिए। त्यसपछि पार्वती शिवजीका साथमा हिमालय पर्वत पुगिन्। पिता हिमालय र माता मेनकाले शिवजीलाई आफ्नी छोरी पार्वती कन्यादान गरिदिए।

त्यसपछि उप्रान्त सखीद्वारा हरित भएकी पार्वतीले व्रत गरी महादेव स्वामी पाएको हुँदा उक्त व्रत हरितालिका व्रत (तीज) का नामले प्रसिद्ध भयो। यही विश्वासका आधारमा हिन्दु धर्मालम्बी महिलाले पतिको दीर्घायु, आफ्नो शौभाग्य तथा सुखद् दाम्पत्य जीवनको लागि र विवाह नभएका कन्याले पनि इच्छित वर पाऊँ भनी हरेक वर्ष भाद्र शुक्ल तृतीयका दिन भगवान् शिवको व्रत बस्ने परम्परा चल्दै आएको हो। पहिला-पहिला हिन्दु नारीहरुले मात्र मान्ने भनिए पनि आजकल देश-विदेशमा रहेका विभिन्न जाति, धर्म र समुदायका नेपाली महिलाले धूमधामका साथ मान्ने चाड हो तीज।

हरितालिका व्रत पूरा गरेपछि भाद्र शुक्ल पञ्चमीको दिन आउँछ। जुन ऋषि पञ्चमीको नामले प्रसिद्ध छ। उक्त दिन सप्तर्षि (अत्रि, कश्यप, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नी र वशिष्ठ) को पूजा गरिन्छ। सप्तर्षिको व्रत र पूजा गरिने भएकोले सो दिनलाई ऋषि पञ्चमी भनिएको हो। यो दिन तीजको अन्तिम दिन हो। यो व्रत पनि पौराणिक प्रसंगसँगै जोडिएको छ। एकचोटि नारीहरु रजश्वला हुँदा हुने छुवाछुतको पाप मोचन गर्न के गर्नुपर्छ भनेर युधिष्ठिरले कृष्णसँग प्रश्न गर्दा इन्द्रद्वारा वृत्रासुर राक्षसलाई मार्दा ब्रह्महत्या लागेको र इन्द्र ब्रम्हाकहाँ गएपछि ब्रम्हाले ब्रम्हहत्यालाई चार भाग पारी पहिलो अग्निमा, दोश्रो नदीमा, तेश्रो पर्वतममा र चौथो नारीहरुको रजमा फ्याँकेको हुँदा रजस्वला भएका नारीलाई चार दिनसम्म छुन नहुने र चौथो दिन मात्र उनीहरु स्नान गरीकन शु‍द्ध हुने कुरा कृष्णले बताए। यसका साथै नारीहरु रजश्वला हुँदा हुने सक्ने छुवाछुतको पाप निवारण गर्न ऋषि पञ्चमीको व्रत गरी सप्तर्षिको पूजा गर्नुपर्ने कुरा पनि श्रीकृष्णले बताए। तसर्थ यस दिन रजश्वला भइसकेका नारीले पवित्र नदीमा गई ३६५ टुक्रा दतिवनले अंग प्रत्यांगमा चोख्याइ नुहाएर सप्तर्षिको पूजा गरिसकेपछि एक छाक चोखो खाने चलन छ।

भाद्र शुक्ल तृतीयामा हरितालिका तीजको दिन पानी समेत नखाइ निराहार व्रत बस्नुपर्ने भएकाले सो को अघिल्लो दिन भाद्र शुक्ल द्वितीयाका राति विभिन्न मिष्ठान्न भोजनहरु दह्रोसँग खाने चलन छ। दह्रोसँग खाइने हुनाले त्यो रात नारीहरुले खाने विविधथरिका भोजनलाई ‘दर’ भन्ने गरिएको हो। साथै पार्वतीले शिव स्वामी पाएको उपलक्ष्यमा साथी-संगीलाई जंगलमा भोज गराएको कुरालाई कालान्तरमा ‘दर’ भनी खाने गरिएको मान्यता यससँग जोडिएको छ।

दर खानको लागि बिहा गरेर पराइ घर गएकी छोरीचेलीलाई बावु वा दाजु-भाइ लिन जानुपर्ने यसको विशिष्ट पक्ष हो। पहिला-पहिला अहिलेको जस्तो बाटो-घाटो र सञ्चारको सुविधा थिएन। सानैमा विवाह गरेर नौ डाँडापारि कन्यादान गरेर पठाएका छोरीचेली एक्लै माइत आउन सक्तैनथे। अप्ठेरो बाटो, बर्खाको बेला हान्निएर बग्ने खोलानाला (ऊ बेला सबै ठाउँमा तर्ने साँघु हुँदैनथे) र बाटामा पट्टेर जंगल भएकाले एक्लै माइत-घर गर्न गाह्रो हुन्थ्यो।

ऊ बेला सानैमा बिहा गर्ने चलन थियो। कठोर बुहार्तन खेप्नुपथ्र्यो छोरी चेलीले। पहिले बुहारी भएर खेपेको बुहार्तन पछि आफू सासूको भूमिकामा भएपछि नयाँ आउने बुहारीका लागि पनि त्यही कठोरता अपनाउँथे सासूहरु। शिक्षा थिएन। चेतना थिएन। आफूले जो भोग्यो त्यही नै दुनियाको रीत जस्तो लाग्थ्यो उनीहरुलाई। नारीहरु पुरुषहरुबाट मात्र होइन सासू, आमाजु र नन्दहरुबाट त्यत्तिकै प्रताडित थिए। कलिलो उमेरमा कडा बुहार्तन खेप्नु उनीहरुको नियति नै थियो। आधा रातमै उठेर दिनभरिको काम धन्दा, अनि बेलुका झप-झप निद्रा लाग्दा पनि काम धन्दा नसकिएर राति अबेर मात्र झपक्‍क सुतेपछि फेरि उठ्ने बेला भइहाल्ने।

जब बर्खा क्रमशः हट्दै जान्छ र कामको लन्ठा पनि विस्तारै कम हुँदै जान्छ। यसको लगत्तै तीज आउँछ। बर्खाको काम धन्दाले लखतरान र थिल्थिलो भएको बुहारी ज्यानले आफ्नी आमाको हातले बनाको मीठो खानेकुरा सम्झेर औंला भाँच्दा-भाँच्दै टुप्लुक्‍क माइती लिन आउँछन् तीजमा। ओहो, त्यो माइतीको अनुहार कहिले देखूँ भाको। माइती देश कहिले पुगूँ भाको। भुइँमा खुट्टै छैनन् जस्तो। सारा पीर व्यथा एकै चोटि हराए जस्तो।

बल्ल-बल्ल सासू-ससुरा, नन्द-आमाजू, र श्रीमान्ले बिदा दिएपछि माइतीसँग बात मार्दै, बुटा -पोथ्रा नाघ्दै र खोला-नाला तर्दै जब माइत पुग्छन् छोरी-चोली, खुसीले आँसु त्यसै-त्यसै छचल्किन्छन् वरैदेखि। मनका वह कतिखेर पोखौं जस्तो हुन्छ वरैदेखि। हिजोसम्म खेलेको आँगन, पानी भरेका, नुहाएका, लुगा धोएका धारा-पँधेराहरु, गीत गाउँदै मेलापात गरेका खेत-बारी र वनपाखाहरु, दुःख-सुख पोख्तै सँगै हिंडेडुलेका साथी-संगीहरु। सम्झिँदा पनि कति मीठो कति आनन्द।

गाउँमा कसैले खसी काटेको भए बेलुका मासु भात, नभए आलुको तरकारी, अचार, मगमग खारेको घिउ, दहीसँग ढिक्‍कीमा कुटेको चामलको भात। आहा ! कति मीठा यी सबै कुरा। उसो त आमाको हातै मीठो ! आमाको मायै मीठो।

बेलुका दर खाइसकेपछि रातभरि मझेरीमा बसेर घरका बात, माइतका बात दुःख-सुख ओकल्दा-ओकल्दै रात छिप्पी सक्छ। पहर-पहर परेवा घुर्दै जाँदा फेरि दर पाक्छ- विभिन्न मसला हालेको खीर र आलुका चाना। अन्तिम पहरतिर वल्लाघर, पल्लाघर, माथ्लाघर, तल्लाघर हल्ला-खल्ला सुरु हुन थाल्छ। ‘ए उठ है दर खान’ भनेर ठूलाहरु कराउन थाल्छन्। अनि सुतेकाहरु व्युँझिन थाल्छन्। घद्राक -घुद्रुक दैलाहरु उघ्रिन थाल्छन्। उज्यालो हुनुअघि फेरि दर। फेरि रमाइलो।

भोलिपल्ट कठोर व्रत। त्यस दिन कोही पनि खेतबारीका काम गर्दैनन्। वस्तुभाउलाई घाँसपात अघिल्ला दिनै काटेर गोठमा थुपारिएको हुन्छ। त्यसैले महिलाहरु फुक्‍का फाल। बिहामा लगाएको रातो सारी, गच्छे अनुसारको गहना र समय अनुसारको श्रृङ्गारले सजिएका नारीहरु मठ मन्दिरतिर जान्छन्। शिवजीको आराधना गर्छन्। माइतीको याद, घरको बुहार्तन, सासु र नन्द-आमाजूको टोकसो यिनै विरह-वेदनाहरु गीतको लयमा प्रकट हुन्छन्। अनि यिनै लोक भाकामा छमछमी नाच्छन् महिला। जान्नेहरु गीतको लयमा हाउभाउ देखाउँछन्। बेत लौरीजस्तै कम्मर मर्काउँछन्। फनक्कै घुम्छन्। लरक्‍कै लर्किन्छन्। नजान्नेहरु पनि खुट्टा दुखे दुखून् बुरुक-बुरुक उफ्रिन्छन्। जोगिएर जिउ मर्काउँछन्। जोगिएरै घुम्छन्। वातावरण पूरै रोमाञ्चित हुन्छ। गुञ्जायमान हुन्छ। लाग्छ, शिवजी खुसी भएर माथि आकाशबाट हेरिरहेका हुँदा हुन्। वरदान दिइरहेका हुँदा हुन्।

माइतमा हिजो सँगै खेले-हुर्केका दिदी-बहिनी, साथी संगीहरु भेट हुन्छन्। बाटाभरि, बजारभरि फेरि हृदयका पाना उघ्रिन्छन्। छताछुल्ल पोखिन्छन् मनका भावहरु। भनी साध्य छैन भेट हुँदाको त्यो खुसी। कुरा सप्पै पोखिएपछि हलुको हुन्छ मन फूलको थुंगाजस्तो। सिमलको भुवा जस्तो।यो हो हाम्रो मौलिकता। पूर्खादेखि चली आएको रीत। माइतीसँग चेलीबेटीको चोखो र कहिल्यै नओइलाउने प्रित। तर, हाम्रो मौलिक परम्परामाथि धावा बोल्न थालिएको छ आजकल। हामी संस्कृति जोगाउनमा भन्दा यसमा विकृति थप्न पो लागेका छौं कि ? विगतका केही वर्षदेखि हामी बढी नै आधुनिक भइरहेका छौं कि ? यसमा समीक्षा गर्न जरुरी छ। एक महिना अघिदेखि नै अनेकौ तामझामका साथ पार्टी प्यालेस र महङ्गा रेष्टुरेन्टमा तीज मान्ने प्रचलन बढिरहेको छ। त्यसैगरी विभिन्न सहरीया नव-धनाड्य र सम्भ्रान्तहरुले तीजमा छोरीलाई माइत बोलाउने क्रममा छोरीको घरमा लत्ता-कपडा, गर -गहना र मिष्ठान्न खानेकुराहरु लिएर जानुपर्ने चलन पनि बसालेका छन्। यस्ता थप चलनहरु अरुलाई पनि बाध्यकारी बन्दै गइरहेको अवस्था छ। यसलाई संस्कृतिको नाममा विकृति नभनी के भन्ने ? शरीरले थाम्नै नसक्ने गरी सुनका झरिझुट्ट गहना सहित महँगा-महँगा लुगाको पहिरनमा देखिएको तँछाड-मछाडले तीज धनीहरुको लागि सम्पत्ति र रवाफ प्रदर्शन गर्ने माध्यम भइरहेको छ। खानेकुरामा दूध, दही, घिउ, मिठाइ आदिका परिकारभन्दा पनि वाइन संस्कृतिले बढी नै स्थान पाइरहेको छ। हुने खानेहरुका लागि जहिल्यै तीज, जहिल्यै दशैं। तर, हुँदा खानेहरुले इज्जत जोगाउनकै लागि यस्ता चलनहरु जबर्जस्ती पछ्याउनु कति पीडादायी होला। कति गह्रंगो होला।

अहिले तीजका धेरैजसो गीतहरुमा नारीका दुःख, पीडा, समस्या भन्दा पनि आधुनिकताका नाममा अश्लिलता र छाडापन प्रस्तुत भइरहेका छन्। हुन त, समय कहाँबाट कहाँ पुगिसक्यो। आजका नारीहरुले हिजोकै सासू बुहारीका कुरा र रुन्चे पाराका गीत गाउनु भनेको समयलाई बुझ्न नसक्नु हो भन्ने किसिमका प्रश्नहरु पनि उठ्न सक्लान्। तर, के नारीले भोग्ने समस्या सकिएका छन् त ? के आजका नारीहरु सबै पढालेखा, आधुनिक र सुख-सुविधामा मात्र रमाएका छन् त ? त्यसो होइन। आज झन् समस्याहरु बढेका छन्। नयाँ-नयाँ फिल्मी शैलीमा घरेलु हिंसा, बलत्कार र प्रतिशोधका घटनाहरु घटेका छन्। हत्या र आत्महत्या दिनहुँ बढिरहेछन्।

बोक्सी, छाउपडी र दाइजोका घटनाहरु त्यस्तै भयावह छन्। यिनै कथा-व्यथाहरुलाई तिनै पुराना लोक भाकाहरुमा ढालेर पनि त गाउन सकिन्छ। महिला चेतना, हक, अधिकार, जागरण र सशक्तीकरणका गीतहरु हरेक ठाउँमा गुञ्जायमान गर्न सकिन्छ। यसो त, पछिल्लो समय महिलामाथि भएका पारिवारिक, सामाजिक, राजनीतिक उत्पीडन र यस सम्बन्धी सरकारी उदासीनता बारेमा पनि तीज गीतहरु प्रस्तुत भइरहेका छन्। परिवर्तित सन्दर्भमा यसलाई राम्रै मान्न सकिन्छ। तर, यिनमा महिलाको अग्र-चेतना र मुक्तिको स्वर त्यति सशक्त रहेको पाइँदैन। बरु, यस्ता गीतहरु छिटो चर्चा कमाउने र सस्ता मनोरञ्जनमा बढी केन्द्रित छन्।

सम्पर्क

सोलुसन खबर  मिडिया प्रा.ली.
दर्ता नं. : –
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]

सामाजिक संजाल

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: महेश खनाल
न्युज डेस्क – बिना मगर, चित्र मगर

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।