

प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्व कोरोना महामारीका बिच पनि उदयपुरमा मनाइएको छ। कोरोना माहमारीबाट बच्न स्थानीय प्रशासनले भीडभाड नगरी सकेसम्म घरमै बसेर छठ पर्व मनाउन आह्वान गरेसँगै अस्ताउदो सूर्यलाई अर्घ दिन त्रियुगा तथा बरुवा नदीमा पुगे पनि स्नान गरि अर्घ दिएर सबै आफ्नो घर फर्किएका छन ।
त्रियुगा नदीमा यस वर्ष छठ पुजा नगरी घर घरमा गर्न त्रियुगा छठ समिति गाईघाटले अनुरोध गरेको छ । त्रियुगा छठ समितिका अध्यक्ष खेमनारायण यादवले यस वर्ष कोरोना भाइरसका कारण स्थगित गरिएको अध्यक्ष यादवले जनाए ।
भत्तालुहरुलाई यस वर्षको छठ पुजा घर घरमा मनाउन पनि अनुरोध गरिएको अध्यक्ष यादवले जानकारी दिए । नदीमा बसेर छठ पुजा गर्न अहिलेको अबस्थामा नमिल्ने भएपनि भत्तालुहरु अस्ताउदो सूर्यलाई अर्घ दिन त्रियुगा नदीमा राम्रो जमघट भएका थिए।
व्रतविधि
कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर षष्ठी मातालाई चढाई अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आरधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको विश्वास गरिन्छ ।
संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्तिबिना रूख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सामाथि कैयौं चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौं असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ ।
साम्ब पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षी दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आरधनाको फलस्वरूप रोगमुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।