उदयपुरमा थारू जातिले यसरी मनाउँदैछन् ‘जितिया पर्व’

Logo
बुधबार, आश्विन १३, २०७८

आज उदयपुरका आदीवासी भूमिपुत्र थारु जातिले ‘जितिया पर्व’ मनाइरहेका छन् । थारुहरुको बाक्लो बसोवास रहेको उदयपुरको विभिन्न क्षेत्रमा जितियाको विशेष उल्लास छ । आज थारु समुदायका महिलाहरु बिहानैदेखि निराहर व्रत बसी झाम्टा नाच नाच्दै, गाउँदै जितिया मनाइरहेका छन् । बिहानै नुहाइधुवाइ गरी बेलको पात टिपेर दिनभर निराहर व्रत बसी महिला तथा युवतीहरु यो पर्व मनाउँछन् । बिहान दर खाएपछि महिलाहरु एक ठाउँमा जम्मा भएर गीत गाउँदै रमाइलो गर्छन् । तीन दिनसम्म विभिन्न धार्मिक कार्य गरी यो पर्व मनाइने थारु महिला अगुवाहरुको भनाइ छ । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन मनाइन्छ । आज जितियाको दोस्रो दिन अर्थात मूख्य दिन हो । सप्तमीको दिनलाई ‘लाहा खाएके’, अष्टमीको दिनलाई ‘उपास’ र नवमीको दिनलाई ‘पारन’ भनिन्छ । आज अष्टमीको दिन भएकोले महिलाहरू विहानैदेखि ‘उपास’ व्रत बसी झम्टा नाँच नाचेर रमाउँछन् ।
महिलाहरू नयाँ सांस्कृतिक भेषभूषा लगाई दिनभरि नै झमटा नृत्यमा झुमेर रम्छन् । आज बेलुकीपख ब्रतालुहरु फेरि खोलामा गइ पिनाले नुहाइ पातमा पिना बगाउँछन् । त्यसपछि सबै व्रतालु महिला जम्मा भएर कथा श्रवण गर्ने प्रचलन छ । रुखको चारैतिर व्रतालु महिलाहरू फलफूल, पानी, दूध, दही साथै बिहान भिजाएको मास र चामल लिएर बस्छन् ।
गाउँको कुनै एक भद्र पुरुषले जीतबाहनको कथा (जितिया व्रत कथा) घण्टौं लगाएर सुनाउँछ । कथा सकिएपछि सबै जना घर गएर फलाहार गर्छन् । त्यसलाई ‘फराहर’ भनिन्छ । भोलिपल्ट अर्थात् नवमीको दिन सबेरै सबै व्रतालु खोलामा नुहाएर निराकार प्रतिमूर्ति (जसलाई थारु भाषामा ‘गरग्वाङ’ भनिन्छ) बनाएर मासको गेडाले पूजा गर्छन् । खोलाबाट घर आइसके पछि ब्रतालुहरुले दहि चिउरा, केरा लगायतका खानेकुरा खान बस्छन् तर खानु भन्दा अगाडि गुइठाको अङ्गारमा काठको धूप बालेर सबै खानकीको केही अंश चढाएर मात्र खान्छन् । त्यसलाई ‘पारन’ भनिन्छ । त्यसपछि भने व्रत सकिएसँगै जितिया पर्व सकिन्छ।

हिन्दु धर्मालवम्बी नेपाली महिलाहरुले मनाउने तीज जस्तै थारु समुदायले यो जितिया पर्वलाई महत्वका साथ मनाउने गरेका छन् । जितिया पर्वको आफ़्नै धार्मिक तथा साँस्कृतिक महत्व रहेको छ । जितियामा व्रत बसेपछि आफ्नो मनोकांक्षा पूरा हुने विश्वास रहेको छ । थारु समुदायका धेरै चाडपर्वहरु लोप हुने अवस्थामा पुगेका छन् । त्यसैले जितिया पर्वलाई लोप हुन नदिन थारु महिला अगुवाहरु पनि सक्रिय छन् । युवा पिढिहरुलाई जितियाको महत्व र यस पर्वमा हुने क्रियाकलाप बारे युवायुवतीहरुलाई जानकारी दिने गरेका छन् । पछिल्लो समय जितिया पर्व सुरु हुनुपूर्व नै प्रतियोगितात्मक कार्यक्रमहरु पनि हुने गरेका छन् ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।