एकल बहुमत हुदापनी कांग्रेसका कार्यपालिका सदस्य पराजित

Logo
बिहिबार, जेठ १९, २०७९

उदयपुर । सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षबीचको असमझदारी चुलिँदा मोरङको बुढीगंगा गाउँपालिकामा एकल बहुमत भएर पनि नेपाली कांग्रेसकै उम्मेदवारहरू कार्यपालिका चुनावमा पराजित भएका छन्।

बुढीगंगा नेता कोइरालाको निर्वाचन क्षेत्रमै पर्ने गाउँपालिका हो। कोइराला पक्षका अधिकांश जनप्रतिनिधि चुनिएको बुढीगंगाका देउवा पक्षधर जनप्रतिनिधिले माओवादी र एमालेसँग गठबन्धन गर्दा कांग्रेस उम्मेदवार पराजित भएका हुन्।

कांग्रेसबाटै विद्रोह गरेर बागी उम्मेदवारी दिएर जितेकाहरू भने कार्यपालिकामा निर्वाचित भएका छन ।

कूल ३७ जनाको गाउँपरिषदमा कांग्रेस एक्लैले २२ जना जितेको थियो। यो संख्या एकल बहुमतभन्दा पनि बढी संख्या हो। तर, एकल बहुमत हुँदाहुँदै पनि आन्तरिक विवादले कांग्रेस उम्मेदवारहरू कार्यपालिकामा चुनिन सकेनन्।

‘हामीलाई कांग्रेसभित्र अन्तर्विरोध छ भन्ने थाहा थियो’, माओवादीका प्रदेश सदस्य उपेन्द्र रायले भने, ‘हामीले त्यही अन्तर्विरोधमा खेल्यौं, सफल पनि भयौं।’

बुढीगंगामा स्थानीय चुनावमा कांग्रेसको कोइराला पक्षले गठबन्धन गर्न नहुने अडान लिएको थियो भने संस्थापन पक्ष गठबन्धन गरेर जानुपर्ने पक्षमा थियो। चुनावमा कांग्रेस एक्लै लडेको थियो।

कांग्रेसले एक्लै चुनाव लड्दा पनि अध्यक्ष–उपाध्यक्षसहित बहुमत सिट जितेको थियो। देउवा पक्षले कोइराला पक्षसँग त्यही रिस फेर्न एमाले र माओवादीसँग कार्यपालिकामा तालमेल गरेको स्रोतको भनाइ छ।

गाउँपरिषदमा एमालेसँग १० र माओवादीसँग ५ जना जनप्रतिनिधि निर्वाचित भएका थिए।

बिहीबार भएको कार्यपालिका चुनावमा कांग्रेस उम्मेदवारको साटो एमाले, माओवादी र कांग्रेसकै बागी उम्मेदवारले जितेका छन्।

कार्यपालिकामा निर्वाचितबाट ४ जना र अल्पसंख्यक तथा दलितबाट २ जनाको लागि निर्वाचन भएको थियो।

कार्यपालिकामा वडा सदस्यबाट एमालेका एक जना, माओवादीबाट १, एक जना कांग्रेसका बागी र एक जना कांग्रेसकाले जितेका छन्। बाहिरबाट दुबै जना बागी कांग्रेस विजयी भए।

निर्वाचन अधिकृत मणिराम पोखरेलका अनुसार महिलातर्फ माओवादीकी  पुष्पादेवी भगत २२ मत, एमालेकी रेखाकुमारी सरदार २२ मत ल्याएर विजयी भए। कांग्रेसमा संस्थापन पक्षकी  सपना कोइराला भने विजयी भएकी छन्। उनले १९ मत पाइन्। कांग्रेसकै बागी चन्द्रकला चौधरी २५ मत ल्याएर विजयी भइन्।

कांग्रेसकै मिथिला आचार्य  १८ र मीनादेवी विश्वास  १४ मत ल्याएर पराजित भए। खुलातर्फ स्वतन्त्र उमेदवार किरणकुमार चौधरीले २२,  बनुलाल उराँव २२ मत ल्याएर निर्वाचित भए। कांग्रेसका जयप्रकाश मण्डल र जयप्रकाश सरदारले १३–१३ मत मात्रै पाए।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]