मेयर बसन्तका अवसर र चुनौती

मेयर बसन्तको सहकार्यको मोडल, सल्लाहकारको समूह र कर्मचारीतन्त्र/प्रशासनिक समूह कस्तो बनाउँछन् त्यसले धेरै फरक ल्याउनेछ ।
Logo
खेमराज दाहाल मंगलबार, जेठ ३१, २०७९

उदयपुर । लोकतन्त्रको मूल जराको रूपमा रहेको स्थानीय तहको निर्वाचन मुलुक संघीयतामा गए पश्चात दोस्रो पटक सफलता पुर्वक सम्पन्न भएको छ । पहिलो कार्यकालमा आफ्ना स्वार्थ हेरेर जनतालाई भोट बैंक मात्र ठान्नेहरुलाई निर्वाचन मार्फत दण्डित गरेर आम मतदाताले आफ्ना दुःखसुखमा प्रत्यक्ष साथ दिने जनप्रतिनिधि प्राप्त गर्न सफल भएकोमा आमसर्वसाधरणको भरोसामा एक खालको खुसीयाली छाएको छ ।

यसो भन्दै गर्दा स्थानीय निर्वाचनबाट चुनिएका सबै जनप्रतिनिधिसामु ठूलाठूला चुनौतीसँगै महत्वपूर्ण अवसर विद्यमान रहेको पाइन्छ । जनप्रतिनिधिले ती चुनौतीलाई सम्भावनामा रूपान्तरण गर्दै प्राप्त अवसरलाई बुद्धिमतापूर्वक सदुपयोग गर्न सक्नुपर्छ ।

निर्वाचन सम्पन्न भइसकेको अवस्थामा कसले भोट दियो र कसले भोट दिएन भन्ने हिसाब-किताब गरेर अब कसैप्रति पनि आग्रह-पूर्वाग्रहको भावना राख्नु उचित हुँदैन । पक्षपातपूर्ण व्यवहारले जनताको लागि गरिने लोकप्रिय काम सम्पन्न गर्न समस्या आइलाग्न सक्छन् । गहन साझा जिम्मेवारीमा रहेका व्यक्तिबाट हुने हरेक क्रियाकलापले सिंगो समाजलाई नै प्रत्यक्ष प्रभाव पार्दछ । अतः जनप्रतिनिधिले आफ्ना व्यक्तिगत जीवनशैली तथा आचरणमा समेत विशेष ध्यान दिनु जरुरी हुन्छ । उनीहरूले आम जनताको अगाडि एक उदाहरणीय व्यक्ति बन्न सक्नुपर्छ ।

सर्वसाधारण जनताको मन र मत जितेर पनि आन्तरिक र ब्याबस्थापकिय कमजोरीका कारण २०७४ को निर्वाचनमा थोरै मतान्तरले पराजित भएका बसन्त कुमार बस्नेतलाई पार्टी भित्रको आन्तरिक कारणले पनि कुनै फरक नपार्ने गरि जनताले मन र मत दिएर त्रियुगा नगरपालिकामा नगरप्रमुख बनाएका छन ।

आफू बहुमतमा हुदाहुदै पनि कार्यपालिका निर्वाचनमा आफ्नो पार्टीका प्रतिनिधि पराजित हुनु भनेको आउदा दिनमा मेयर बस्नेत माथी थप चुनौती थपिएको संकेत मान्न सकिन्छ । रुख चिन्हबाट आफू जितेर आएर आफ्नै मेयरलाई कमजोर बनाएर असफल बनाउन उद्यत खेल कहाँ, कसरी र किन भयो भन्ने कुरा मेयर बस्नेतले समयमा नै बुझ्न जरुरी छ । यो कार्यपालिका निर्वाचनले मेयर बस्नेत माथि चुनौती सँगसँगै अवसर थपिदिएको छ ।

कार्यपालिका पछिको निर्वाचन परिणामको सन्देशलाई मनन गर्दै आफ्नो ५ बर्षे कार्यकाललाई कसरी स्वर्णिम बनाउन सकिन्छ भनेर आगामी ५ भित्र नगरले गर्ने बहुबर्षिय योजना, बार्षिक योजना, दीर्घकालीन र महत्वाकांक्षी योजना सहितको खाका कोरेर अफ्नो कार्यकालको पहिलो नगर अधिबेशन मार्फत आम आम नगरवासीलाई सन्देश दिनु पर्दछ ।

स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी एक रथका दुई पांग्रा जस्तै हुन । जनप्रतिनिधि र कर्मचारी बीचमा नङ र मासुको सम्बन्ध कायम हुनुपर्छ । आफ्नो ५ बर्षे कार्यकाललाई सफल बनाउन आफ्ना हरेक योजना , सपना र जनतासँग गरेका प्रतिबद्धता बुझ्ने कर्मचारी प्रशासन मेयर बस्नेतले तयार गर्नु पर्छ । प्रायश: नगरपालिकामा लामो समयदेखि कार्यरत कर्मचारी हुन्छन् जसलाई कर्मचारीकै भाषामा भन्दा “अड्डा जमाएर” बसेका हुन्छन्। नगरको कामलाई दोस्रो प्राथमिकतामा राखेर आफ्नो व्यक्तिगत लाभलाई पहिला राख्ने कर्मचारी भएमा आफ्ना योजना असफल हुनेछन त्यसैले त्यस्मा सजग हुन जरुरी छ ।

कर्मचारी स्वभावलै प्रक्रियामुखी भएकोले मेयर बस्नेतको नयाँ भिजन र स्पिरिटसँग कर्मचारीको काम गर्ने प्रवृत्ति मेल नखान सक्छ। पुरानै संरचनाको धङ्धङीमा रहेका कर्मचारीतन्त्रलाई बढी चलायमान बनाउन नयाँ ढंगबाट सोच्नुपर्ने हुन्छ। नयाँ जोश, जाँगर र नवप्रवर्तनकारी सोच भएको कर्मचारी उनको टिममा आवश्यक हुन्छ। नगरपालिकामा भिन्न पार्टीबाट राजनैतिक नियुक्ति लिएर आएका कर्मचारीहरु हुन्छन । जो सुकै आए पनि नगरलाई समृद्ध बनाउन पर्छ भन्ने सोच भएका कर्मचारी औंलामा गन्न मिल्ने मात्र छन्। पुरानै ढर्रा र पुरानै सोच भएको कर्मचारीबाट मेयर बस्नेतका एजेन्डा योजना लागू गराउन निकै नै सकसपूर्ण हुन सक्छ त्यसैले त्यसमा परिवर्तन जरुरी छ ।

मेयर वसन्त बस्नेतले जनमुखी नीतिनिर्माणमा नयाँ रक्तसञ्चार गर्न खोज्ने र सक्ने युवा प्रशासनिक नेतृत्वमा ल्याउन प्राथमिकतामा पर्नुपर्दछ। बसन्तसँग काँधमा काँध मिलाउने प्रशासनिक नेतृत्व नभएसम्म नगरको कामले गति लिन सक्दैन। बसन्तले नीति कार्यक्रम बनाउनेदेखि त्यसको कार्यान्वयन गर्न त्यही किसिमको प्रशासनिक टिम निर्माण गर्नु बुद्धिमता हुन्छ । जुन अघिल्ला मेयरले गरेका थिएनन ।

त्यस्तै व्यक्तिगत र सामाजिक स्वार्थलाई समयमै चिनेर अव्यावसायिक समूहबाट मेयर बसन्तले टाढा रहनुपर्छ। जटिल प्रकृतिका कामकारबाहीका लागि विज्ञ समूह गठन गरी सो समुहबाट समाधानका उपाय खोज्नुपर्छ जुन कुरा अनौपचारिक कार्यक्रममा उनले भन्ने गरेका छन । संविधान र ऐनले प्रदान गरेका अधिकारहरूको यकिन गरी नगरपालिकाको दायरा र उपस्थिति बढाउँदै लगेमा बसन्तले जनमुखी एजेन्डालाई आगामी दिनमा संस्थागत गर्न गाह्रो हुने छैन।

चुनौती जसका अगाडि पनि हुन्छन् नै। सहकार्यको उनको मोडल, सल्लाहकारको समूह र कर्मचारीतन्त्र/ प्रशासनिक समूह कस्तो बनाउँछन् त्यसले धेरै फरक ल्याउनेछ। यी कुरामा विशेष ध्यान दिएको खण्डमा बसन्तको विजयले नगरको समृद्धिलाई उचाइमा पुर्‍याउने देखिन्छ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।