उदयपुर । जिल्लाकै सबैभन्दा ठूलो बसपार्क त्रियुगा बसपार्क एरियामा महिनौ देखि सडक बत्ती नबल्दा राती अन्धकार हुने गरेको छ । गाइघाट बजारको प्रवेश द्वारमा रहेको त्रियुगा बसपार्कमा बत्ती बिग्रेको लामो समय बितिसके पनि मर्मत नहुदा अन्धकार भएको हो ।
रातमा बसपार्क जस्तो संवेदनसिल ठाउँमा सडक बत्ती एकै वटा पनि नहुदा त्यहाँको सुरक्षा फितलो देखिएको छ । बसपार्क एरियामा सोलार बत्ती सहित बिद्युत पोल बत्ती समेत छन तर एक वटा पनि अहिले बल्ने अवस्थामा छैनन ।
सिसि क्यामेरा समेत अहिले नचल्ने अवस्थामा रहेको र सडकबत्ती समेत बिग्रदा सम्भावित दुर्घटना हुने जोखिम बढेको स्थानीय बताउछन ।
गाईघाटका विभिन्न ठाउँका पसलमा चोरी भए पनि चोरी गर्ने व्यक्तिलाई पत्ता लगाउन समस्या छ। सडक बत्ती सहित सिसि क्यामेरा नचल्दा चोरी गर्ने ब्यक्ति पहिचान गर्न गाह्रो भएको बसपार्क प्रहरी अस्थाई प्रहरी बिटका इन्चार्ज बरिष्ठ प्रहरी हवल्दार गणेश राईले बताए ।
त्रियुगा नगरपालिकाका मेयर वसन्त कुमार बस्नेतले त्रियुगा बसपार्क एरियामा लामो समय देखि सडक बत्ती सिसि क्यामेरा बिग्रेको अवस्थामा रहेको आफू जानकार रहेको बताएका छन ।
नव निर्वाचित मेयर बस्नेतले बजार एरिया लगायत बसपार्क सम्म सडक बत्ती र सिसि क्यामेरा जडान गरिने उल्लेख गरेका छन । यहाँ संचालनमा रहेका बैंक तथा बित्तिय संस्था र त्रियुगा उद्योग बाणिज्य संघ संग सहकार्य गर्दै सिसि क्यामेरा सबै बजार भरी लगाउने योजना रहेको मेयर बस्नेतले जानकारी दिए ।
,
“यहाँ एक दर्जन बढि बाणिज्य बैंकहरु संचालनमा छन ।” उनले भने, “ती बैंकहरुलाई समेत सुरक्षा पुग्ने गरि उनिहरुको सहभागितामा बजारमा सिसि क्यामेरा जडान गरिन्छ, सबै बैंकले आफ्नो अगाडि एक र सडकलाई एक र बाँकी अपुग ठाउँमा नगरपालिकाले पूरा गर्ने गरि सिसि क्यामेरा जडानको ब्याबस्था चाडै हुने छ ।”