त्रियुगाका मेयरलाई खुला पत्र

खेमराज दाहाल सोमबार, आषाढ २७, २०७९ समय 08:07:35

श्री बसन्त कुमार बस्नेतज्यू,
नगर प्रमुख – त्रियुगा नगरपालिका, उदयपुर, गाइघाट । नमस्कार !

सर्वप्रथम तपाईँलाई सफल कार्यकालको हार्दिक शुभकामना ! तपाईँले मेयर पदको पदभार ग्रहण गर्दै गर्दा नगरलाई कृषि क्षेत्रमा आत्म निर्भर बनाउने, शिक्षा क्षेत्रलाई प्राथमिकता दिने लगायतका बिषयमा आफू दत्तचित्त भएर लाग्ने बताउनु भएको थियो । यी बिषयको व्यावहारिक कार्यान्वयनमा सफलता प्राप्त होस् भन्ने कामना गर्दछु ।

लामो समय देखि राजनीति संगै सामाजिक जीवन बिताउनु भएको तपाइँ प्रती जनताका अपेक्षा अलिक बढि छन । तपाईं जतिको बौद्धिक ब्याक्तित्वको राजनीतिक, सामाजिक र प्रशासनिक क्षमता माथी प्रश्न उठाउने हैसियत त मेरो हैन तर त्रियुगा नगरपालिका उदयपुरको सदरमुकाम गाइघाटमा पर्छ र यस पालिकाले समग्र जिल्ला भरिका पालिकाको प्रतिनिधित्व गर्न पर्छ भन्ने मेरो ठम्याई छ । यो नगरपालिकाले बिकास र समृद्धिका लागि कोरेको बाटोमा समग्र जिल्लाका अन्य पालिकाले अनुशरण गर्छन । किन कि उदयपुर भन्ने बित्तिकै गाइघाट त्रियुगा नगरपालिका सम्झना आउँछ । सदरमुकाममा रहेको त्रियुगा नगरपालिकाले कोरेको समृद्धीको बाटोमा अन्य पालिकाले अनुशरण गर्दा गर्व गरून् ।

तपाईको म अति नजिकको सुभेच्छुक भएकोले पनि नजिक बाट चिनेको कारणले पनि साना कुराहरु देखि नै सल्लाह सुझाव दिनका लागि यो पत्रको साहारा लिएको छु । सुरु देखि अन्तिम सम्म झर्को नमानी पढ्नु हुने छ भन्ने असावादी छु । पहिलो तपाई सबैभन्दा बढी समयको महत्त्वलाई ध्यान दिनु होला । तपाइँले कुनै पनि काम आज गर्न खोज्नु भयो भने आजै गर्नु होस भोलिलाई कहिले नसाच्नु होला आज गरेको राम्रो कामले भोलि अर्को राम्रो काम गर्ने प्रेरणा दिन्छ र उत्साहित बनाउछ । तपाईं हाम्रा लागि यो ५ बर्षको समय यति महत्वपूर्ण छ कि यस्ले त्रियुगा नगरपालिका र समग्र उदयपुर जिल्लाको आउने १० देखि १५ बर्षको भविस्यको तय गर्दछ ।

बैशाख ३० गते सम्पन्न निर्वाचनले तपाईलाई जनताको आशा र भरोसाको गह्रौं भारी सहित यस त्रियुगा नगरपालिकाको मेयर बनाएका छन । तपाइँको सफलतामा नगरको भविस्य खोजेका छन । तपाईंको सफलताको कदम दोब्बर बनाउन समयलाई बुझ्नै पर्दछ । आजको यो समयलाई जोगाएर भविष्यमा प्रयोग गर्न सकिन्न । तसर्थ समयलाई सही ठाउँँमा लगानी गर्नु पर्दछ ताकि व्यक्ति, समाज र सभ्यताको विकासमा तपाईको योगदान धेर थोर सवै बेलामा पुगोस ।

अध्ययनको लागि समय दिनुहोस । अध्ययन गर्नु भनेको ज्ञान प्राप्त गर्नु हो । अध्ययनले बिगतका ज्ञानहरुलाई बुझेर बर्तमानका मानकहरुलाई बिश्लेषण गरि अद्यावधिक गर्ने गर्दछ । त्यसैले मानिसले अध्ययनकै माध्यमबाट विगतलाई बुज्दछ, वर्तमानलाई मुल्यांकन गर्दछ र भविस्यको निर्धारण गर्दछ । अध्ययनले मानिसमा सामान्य ज्ञान नभएर व्यवस्थित ज्ञान दिन्छ । ज्ञानको मुख्य स्रोत आफ्नो अबुभव हो । अहिले आधुनिक सञ्चार जगतको समय आएको छ । तपाइँको मोबाइलमा सबै किसिमका लेख, रचना, बिचार-विश्लेषण र फिचरहरु आउछन त्यो पनि सेकेन्ड सेकेन्डमा । ती लेख, रचना बिचार-विश्लेषणहरु लाई चाख दिएर पड्नु होस । आजका जनताले के खोजेका छन ? आजको आबस्यकता के हो ? समाज रुपान्तरणका मुलभुत कुरा के के हुन ? समाज रुपान्तरण बिना नगर मुलुक रुपान्तरण असम्भव छ । त्यसैले विभिन्न लेखकहरुले यी बिषयहरुमा अत्यन्तै मिहिन ढंगले विश्लेषण गरेर लेखेका हुन्छन । त्यसैले अध्ययनलाई समय खर्चनु होस ।

सल्लाह र सुझाव हर कसैको लिनुहोस । नेपालीमा उखान छ “अर्ति भनेको घर्तीको पनि सुन्नुहोस” सल्लाह र सुझावले तपाइँलाई कहिले नराम्रो गर्दैन । सबैको सल्लाह सुझाव लिने र अन्तिममा कार्यन्वयन तपाईंले नै गर्ने हो त्यस बेला आफ्नो विवेक प्रयोग गर्नु होस । बुझ्ने मान्छेले पहिले अरूका कुरा राम्ररी सुन्छ । मन परे मान्छ । मन नपरे मलाई यो–यो कुरा चाहिँ ठिक लागेन भन्छ । प्रतिक्रिया दिन्छ । तर्क गर्छ । तपाई पनि त्यसै गर्नुहोस् । कुनैपनी बिषयमा निर्णय गर्दै गर्दा आफू १० पटक सोच्नु होस र आफ्ना प्रियहरु सँग पटक पटक छलफल गर्नुहोस ।

तपाईँ नगरको अभिभावक भएका नाताले यहाँको सामाजिक रूपान्तरणमा अगुवाको भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा छ । तपाइँले देखेको र सोचेको जस्तो समाज रुपान्तरण गर्नका निमित्त शिक्षा, स्वास्थ्य र पुर्वाधारलाई एकै साथ लिएर हिड्न पर्दछ । यी बिषयमा उल्लेखनीय कार्यको शुरुआत होस् भन्ने आशा छ । नगरको शैक्षिक गुणस्तर उकास्न शिक्षामा प्रत्यक्ष लगानी गरियोस् । तपाईले चाहानु भएको कृषिमा आत्म निर्भर बन्न पनि पहिले शिक्षा क्षेत्रमा कृषिलाई महत्व दिएर बिद्यालय स्तर देखिनै कृषि सम्बन्धी बिषयहरु पठनपाठन गराएर त्यस्को अधार तयार गर्न जरुरी छ ।

सामुदायिक विद्यालय र तिनमा जाने निम्न वर्ग र समुदायका बालबालिकामा शिक्षाप्रति उदासीनता छ । गाउँगाउँमा रहेका निजी महँगा विद्यालयमा शिक्षाशास्त्रमा तालिम नपाएका शिक्षकले पनि पठनपाठन उच्च स्तरको बनाएको तर सामुदायिक विद्यालयमा शिक्षाशास्त्रमा तालिम पाएका शिक्षक रहे पनि शिक्षाको गुणस्तर घट्दो छ । हाम्रो नगरमा शिक्षाको गुणस्तर घट्नुमा शिक्षकहरु स्थानीय राजनीतिमा निर्णायक जस्तै देखिन्छन । कुनै न कुनै राजनीतिक पार्टीमा आबद्ध भएर सो पार्टीको पक्षपोषण गरि रहेका हुन्छन । तिनिहरुले तपाईलाई असफल बनाउन विभिन्न राजनीतिक र सामाजिक रूपमा चलखेल गर्ने छन । तिनिहरुको चलखेललाई निस्तेज गर्न पनि शिक्षाक्षेत्र बुझेको मानिस ल्याउन जरुरी छ ।

हाम्रो शिक्षा क्षेत्रमा पढाइ र परीक्षा केन्द्रित पठनपाठनले प्राथमिकता पाएको छ । जसले विद्यार्थीको सर्वाङ्गीण विकास हुन नसक्दा शिक्षा प्रणाली नै बेरोजगार उत्पादन गर्ने थलोका रूपमा चित्रित भएको छ। तपाइँको उदेश्य सहितको नारा “गुणस्तरीय शिक्षा सर्वसुलभ उपचार, उद्यमशिल शहर समुन्नत र समृद्ध त्रियुगा नगर हाम्रो उपहार” रहेको छ । यो नारालाई चरितार्थ गर्नका निमित्त पनि उद्यमशील शिक्षाको योजना अगाडि सारी समाज अनुकूलको पाठ्यक्रम बनाई देशको आर्थिक, सामाजिक अवस्थासँगै उत्पादनमूलक शिक्षामा जोड दिन जरुरी छ । आजको बजारले खोजेको र समाजको आबस्यकता अनुसारको शिक्षा प्रणाली बनाइएन भने तपाइको सोच र नाराले एथार्थता भेट्न सक्दैन ।

मेयरको पदलाई हाम्रो गणतान्त्रिक संविधानले प्रत्यक्ष मतदानबाट छानिने कुनै पनि पदभन्दा बढी शक्ति र स्रोतसम्पन्न बनाएको छ । किनभने प्रत्यक्ष मतदानबाट छानिसकेपछि पाँच वर्षका लागि पद सुरक्षित हुनुका साथै मेयर आफ्नो पालिकाका कार्यकारी हुन्छन् जोसँग करोडौंको बजेटसहित पालिका हाँक्ने अधिकार पनि हुन्छ । यस्तो कार्यकारी पदमा स्थानीय सरकार संचालनको तहमा रहेको व्यक्तिले आफूले गर्ने निर्णय कानुनी मान्यता प्राप्त, व्यावहारिक र फलदायी हुन भनेर निर्णयपूर्व सल्लाह लिन सल्लाहकारको नियुक्ति गर्ने हो।

तपाइँ अहिले त्रियुगा नगरको कार्यकारी पदमा आसिन हुनुहुन्छ । तपाईले गर्ने निर्णयले कानुनी, सामाजिक, आर्थिक, राजनीतिक र व्यावहारिक फाइदा र असरका बारेमा सल्लाहकारसँग परामर्श गर्नु भए त्यो व्यवहारिक देखिने, विवादस्पद नहुने हुन्छ जसले तपाइको निर्णय प्रक्रियालाई प्रभावकारी बनाउन ठूलो मदत गरिरहेको हुन्छ ।

सफल राजनितिक नेतालाई सल्लाहकारको जति आवश्यकता हुन्छ त्यसको चयनमा पनि उत्तिकै सावधानी अपनाउन जरुरी हुन्छ। सल्लाहकारको मुख्य भूमिका भनेको मेयरले गर्ने काम खासगरी नीतिगत निर्णय र कार्यक्रमलाई सहज र विश्वसनीय बनाउने हो। यसका लागि पर्याप्त विषयगत बिफ्रिङ आवश्यक पर्छ। सबै कुरा एकजना सल्लाहकारले जान्ने कुरा पनि होइन, उसले सम्बन्धित विषयमा विभिन्न विज्ञ र स्रोत जुटाइदिने हो, त्यसको सहजीकरण गरिदिने हो, आफैं सबै कुराको ज्ञाता भएर प्रस्तुत हुने होइन।सल्लाहकारको भूमिका भनेको मेयरले यही नै निर्णय गर्नुपर्छ भनेर तोक्ने होइन।

अन्तमा ५ बर्षे सफल कार्यकालको शुभकामना सहित तपाईंले पाएको अधिकारलाई अधिकारका रूपमा मात्र नभएर एक कार्ययोजनाका रूपमा अघि बढाएर जुन उत्साह र भरोसाका साथ तपाइँलाई नगरवासिले यो अवसर दिएका छन त्यस्लाई भरपुर उपयोग गरि नगरलाई सुशासन, जवाफदेही, भ्रष्टाचारमुक्त बनाउन इच्छाशक्ति सहित कार्ययोजना बनाएर काम गर्नुहोस तपाईलाई इतिहासले सम्झिने छ र यस्मा तपाइँलाई सम्पूर्ण नगरवासीले साथ दिनेछन् । धन्यवाद । जय नेपाल!

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : –२१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected], [email protected]

सामाजिक संजाल

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी
प्रतिनिधि – बिना मगर, बिनोद अधिकारी

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।