उदयपुर । त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतले उदयपुरको त्रियुगामा मेडिकल कलेजको स्थापनाका लागि प्रदेश १ सरकारका मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन ।
उदयपुरका व्यवसायी सहित मुख्यमन्त्री कार्यलय पुगेका मेयर बस्नेतले मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई ज्ञापन पत्र बुझाएका हुन । ज्ञापन पत्र बुझाउने कार्यक्रममा प्रदेश १ सरकारका भौतिक पूर्वाधार तथा बिकाश मन्त्री हिमाल कार्की समेतको उपस्थिति रहेको थियो ।
आफ्नो घोषणापत्रमा शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेका मेयर बस्नेतले ५ बर्ष भित्रमा नगरलाई माछा, मासु, लगायत ७ कुरामा आत्मनिर्भर बनाउने, शिक्षा सुधारमा पहिलो नगरपालिका बनाउने र स्वास्थ्य क्षेत्रमा मेडिकल कलेज स्थापना गर्ने उल्लेख गरेका छन ।
यस अघि चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा.डा. गोविन्द केसीले उदयपुर आएर मेडिकल कलेज स्थापनाको अध्ययन गरेका थिए । आफ्नो अभियानमा डा. केसीले उदयपुरमा मेडिकल कलेज स्थापनाका लागि माग राख्दै आएका थिए ।
२०७५ सालमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा गठित मेडिकल कलेज स्थापना सम्बन्धी अध्ययन कार्यदलका संयोजक प्राध्यापक मधुसुधन सुबेदी नेतृत्वको ३ सदस्यीय टोलीले नगरपालिकामा आएर स्थलगत अध्ययन अवलोकन समेत गरि सकेको छ ।