उदयपुर सिमेन्ट उद्योगद्वारा बिक्री लक्ष्यको ९० प्रतिशत उपलब्धि हासिल

Logo
मंगलबार, साउन ३१, २०७९

उदयपुर । उपभोक्ताको विश्वास जित्न सफल मुलुकको सबै भन्दा ठुलो पुर्ण सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले गत आर्थिक वर्षमा २१ लाख ७२ हजार ४ सय १९ बोरा सिमेन्ट बिक्री गरी कूल बिक्री लक्ष्यको ९०.५२ प्रतिशत उपलब्धि हासिल गरेको छ ।

उद्योगले आर्थिक वर्ष २०७८/०७९ मा २४ लाख बोरा सिमेन्ट बिक्री गर्ने लक्ष्य लिएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक बर्षमा करिब ४ लाख बोरा बढी सिमेन्ट उत्पादन गरी बिक्री गरिएको उद्योगले जनाएको छ । तीन दशक पुराना मिल तथा मेशिनको मर्मतसम्भार गरी उद्योगले उक्त उपलब्धि हासिल गरेको हो ।

लहानस्थित नेपाल विद्युत् प्राधिकरणको ट्रान्सफर्मरमा आएको गडबडीका कारण बिक्री लक्ष्य भेट्टाउन नसकिएको उद्योगका प्रवक्ता लक्ष्मण पोखरेलले जानकारी दिए । उद्योगले गत असारमा तीन लाख बोरा सिमेन्ट बिक्री गर्ने लक्ष्य राखेको थियो । असारमा करिब १० दिन मात्रै उद्योग सञ्चालनमा आएको थियो । दस दिनमा उद्योगले ८७ हजार १ सय ३३ बोरा सिमेन्ट उत्पादन गरेको थियो ।

गत आर्थिक बर्ष २०७८/०७९ मा मूल्य अभिवृद्धि करबापत १८ करोड ८२ लाख ६२ हजार २ सय २७ रुपैयाँ, अन्तःशुल्क बापत २ करोड ३८ लाख ९६ हजार ६ सय ९ रुपैयाँ, अग्रिम करबापत १ करोड ६० लाख २९ हजार ९ सय ७९ रुपैयाँ, रोयल्टी बापत ८३ लाख ५२ हजार ५ सय ८० रुपैयाँ, प्रदूषण शुल्क ५४ लाख ३२ हजार रुपैयाँ सङ्कलन गरी भुक्तानीका क्रममा रहेको उद्योगले जनाएको छ ।

उद्योगले अघिल्लो आवको तुलनामा गत आर्थिक वर्षमा दैनिक उत्पादन क्षमतामा पनि वृद्धि गरेको छ । अघिल्लो आर्थिक बर्षमा औसत दैनिक ४ हजार ८ सय ४४ रुपैयाँ बोरा सिमेन्ट उत्पादन भएकामा गत आर्थिक बर्षमा ७ हजार २ सय ४२ बोरा सिमेन्ट उत्पादन गरिएको प्रवक्ता पोखरेलले जानकारी दिए ।

थप लगानी गरेर दैनिक २२ हजार बोरा सिमेन्ट उत्पादन गर्न सकिने उद्योगको क्षमता रहेको महाप्रबन्धक गोपी न्यौपानेले बताए । न्यौपानेका अनुसार करिब ५६ करोड रुपैयाँ थप लगानी गर्न सके प्रतिदिन २२ हजार बोरासम्म उत्पादन गर्न सकिने छ ।

आर्थिक बर्ष २०७७÷/०७८ सम्म उद्योगको उत्पादन कूल उत्पादन क्षमताको ३० प्रतिशतमा सीमित थियो । आव २०७८÷०७९ मा भने उद्योगको उत्पादन वृद्धि भएको छ । सो वर्ष उद्योगले कूल क्षमताको ३९.१९ प्रतिशत सिमेन्ट उत्पादन गर्न सफल भएको छ । उद्योगलाई नाफामा लैजान कम्तीमा ५० प्रतिशतभन्दा बढी उत्पादन हुनुपर्ने प्रवक्ता पोखरेलले बताए ।

उद्योगको वित्तीय विवरणमा पनि सुधारको सङ्केत देखिएको छ । गत आवसम्म ५ अर्ब ५० करोड रुपैयाँ घाटा पूर्ति भई ५६ करोड रुपैयाँ सञ्चित नाफा कायम भएको उद्योगले जनाएको छ ।

पछिल्ला वर्षदेखि उद्योगले उत्पादन वृद्धिका साथै वित्तीय अवस्थालाई सुधार गर्दै लगेको छ । कोइलालगायत कच्चापदार्थको सिमेन्ट दिएर भुक्तानी गर्ने प्रथाको अन्त्य गरिएको महाप्रबन्धक न्यौपानेले बताए । महाप्रबन्धक न्यौपानेको अग्रसरतामा उद्योगको साधारणसभाले सिमेन्ट उत्पादनका लागि अर्को नयाँ प्लान्ट निर्माण गर्ने कानूनी बाटो खोलिदिएको छ ।

यसका साथै उद्योगले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई पनि निरन्तरता दिएको छ । उद्योगले प्रतिबोरा २ रुपैयाँ ५० पैसा प्रदूषण शुल्क त्रियुगा नगरपालिकामा दाखिला गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।