

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका स्थित कंग खोलाले आज एक यात्रु वाहक बस बगाएको छ । काकरभिट्टाबाट गाईघाट आउदै गरेको डल्फिन यातायातको बस त्रियुगा नगरपालिका वडा नं १ कंग खोलामा फसे पछि बाढिले बस बगाएको हो ।
गाईघाट फत्तेपुर सडक निर्माणका लागि योजना परे पनि यो सडकमा पर्ने खोलामा पक्की पुल नहुदा लाखौ जनताले सास्ती भोग्नु परेको नेपाली कांग्रेस क्षेत्र नं १ का सचिव शुसिल क्षेत्रीले बताए । यस सडक खण्डमा सडक भन्दा पनि पहिले पुलको खाँचो रहेको उनको भनाई छ । “गाइघाट फत्तेपुर सडकमा पर्ने खोलामा पक्की पुल नबन्दा जिल्ला सदरमुकाम गाईघाट जान आउन समेत हामीलाई समस्या भएको छ” उनले भने, “यहाँका जनतालाई सर्पले टोकेर उपचार गराउन जान परो भने पनि जान सकिने अवस्थ छैन, सदरमुकाममा केही काम परेर जान परे पनि जोखिम मोलेर जानू पर्ने बाध्यता छ ।”
चुरे क्षेत्रबाट बगेर आउने खोला भएकोले खोलाले धेरै भन्दा धेरै बालुवा ढुंगा गिटि बोकेर आउने भएकोले खोलामा बस फसेर खोलाले बगाएको नेकपा एकीकृत समाजवादीका प्रबक्ता विपिन आचार्यले बताए । गाईघाट फत्तेपुर सडक खण्डमा पर्ने खोलामा हाल सम्म पुल बन्न नसक्नुको कारण पनि चुरे क्षेत्र नजिकै रहेका कारण सरकारी नितिगत समस्या रहेको आचार्यले उल्लेख गरे ।
“राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले चुरे क्षेत्रको ५ किलोमीटर भित्र भौतिक उत्खनन गर्न नहुने भन्ने रहेको हुदा यहाँ पुल बनाउन नितिगत समस्या छ” आचार्यले भने, “तर अहिले देशभर गठबन्धनको सरकार छ, संघीय सरकारमा परराष्ट्रमन्त्री, प्रदेश सरकारमा सडक पुर्वाधार मन्त्री हाम्रै जिल्लाको हुनुहुन्छ, अझ हाम्रै पार्टीका प्रदेशको मुख्यमन्त्री हुनुहुन्छ, सडकको डिपिआर बनेर कार्यन्वयनको चरणमा छ अब पुलको लागि पनि पहल हुन्छ ।”
गाईघाट फत्तेपुर सडकमा पर्ने खोलामा पक्की पुलको आवस्यकता विकराल रुपमा खड्किएको हुदा संघीय सरकार र प्रदेश सरकारसँग आवस्यक समन्वय गरि यहाँका जनताको सास्तीलाई सम्बोधन गरिने प्रवक्ता आचार्यले बताए ।