उदयपुर । गाइघाट बजार क्षेत्रमा अनाधिकृत रूपमा बनेका घर-टहरा हटाउन र फुटपाथमा व्यावसाय गर्दै आएकाहरुलाई नगरपालिकाले तोकेको ठाँउमा व्यबसाय गर्न आग्रह गर्दै हटाइएको छ ।
त्रियुगा नगरपालिका र त्रियुगा उद्योग बाणिज्य संघको सयुक्त पहलमा नगरपालिका क्षेत्रभित्र रहेका अनाधिकृत रुपमा बनेका घर तथा टहरा हटाउने र फुटपाथमा व्यबसाय गर्दै आएका हरुलाई तोकेको स्थानमा व्यबसाय गर्न आग्रह गर्दै हटाइएको हो ।
पैदल यात्री हिड्ने बाटोलाई समेत अवरोध गर्ने गरि र बजारको सौर्न्दर्य बिगार्ने गरि बनाइएका टहरा र व्यबसायलाई हटाउन निर्देशन दिइएको नगर प्रमुख वसन्त कुमार बस्नेतले जानकारी दिए ।
“हामीले यस अघि नै सूचना निकालेर हटाउन जानकारी दिसकेकका थियौं, बजारलाई व्यबस्थित गर्न हामी सबैको दायित्व र कर्तव्य पनि हो” नगर प्रमुख बस्नेतले भने, “बजारको सौर्न्दर्य बिगार्ने गरि बनाइएका अनाधिकृत संरचना हटाउने र फुटपाथमा व्यबसाय गर्दै आएकाहरुलाई बिकल्प सहित तोकेको स्थानमा व्यबसाय गर्नुस भनिएको हो ।”
यस्तै नगर उपप्रमुख महेश्वरी राईले बजारको सुरक्षा व्यबस्थालाई व्यबस्थित बनाउन पनि फुटपाथको पसल र अनधिकृत टहरा हटाउने निर्णय भएको वताइन ।
यता वडा नं. ११ का वडा अध्यक्ष सुमन्त कोइरालाले ढकी पसले फुटपाथ व्यापारीहरुको संरक्षणकै लागि सुरक्षित स्थान वनाएर व्यवस्थापन गर्न लागेको वताए ।