उदयपुर । विपिको १०९ औं जन्म जयन्तिको अवसरमा आगामी चुनावलाई केन्द्रित गरेर नेपाली कांग्रेस उदयपुरले भदौ २४ गते ‘जनताको साथमा नेपाली कांग्रेस’ अभियानको पहिलो चरणको कार्यक्रमको समापन गरेको छ ।
नेपाली कांग्रेस उदयपुरले आयोजना गरेको कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रतिनिधि रुकमणी कोईरालाले नेपाली राजनीतिका शिखर पुरुष विपि कोईरालाको तस्विरमा माल्यल्पर्ण गर्दै अभियान कार्यक्रमको समापन गरेकी हुन ।
मुलुकका हरेक राजनीतिक परिवर्तनमा नेपाली कांग्रेस निर्णायक शक्ति भएको विगतको इतिहासलाई साक्षी राखेर ‘जनताको साथमा नेपाली कांग्रेस’ अभियान सुरु गरिएको कोईरालाले बताइन ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै सभापती तथा प्रदेश नम्बर १ सरकारका सडक पूर्वाधार तथा शहरी विकास मन्त्री हिमाल कार्कीले नेपाली कांग्रेसको नेतृत्वले कसै प्रति पनि भेदभाव नराखी काम गर्ने बताए ।
जनताको साथमा नेपाली कांग्रेस अभियानले के के कारणले नेपाली कांग्रेस जनताको साथमा छ भनेर कांग्रेसका साथीहरुले जनतालाई प्रष्ट पार्नु पर्ने उल्लेख गरे ।
“निर्वाचनका दौरान जनताको घर आँगनमा पुग्ने, कांग्रेसलाई जनता के सुनाउन चाहन्छन् सुन्ने, जनताको भावना बुझ्ने र जनताको भावनाअनुरुपको रुपान्तरण र विकास परियोजनाबारे जनतासँग विविध ढङ्गले अन्तरक्रिया गरिनेछ,” कार्यक्रमबारे प्रकाश पार्दै सभापति कार्कीले भने, ” कांग्रेसले लिएको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल गरेका उपलब्धि, जिल्लामा कांग्रेसले गरेका बिकासका योजना, कांग्रेसले राखेको दीर्घकालीन सोचलाई जनतासमक्ष सुसूचित गर्ने र निर्वाचनमा कांग्रेसलाई विजयी गराउने यो अभियानको उद्देश्य हो ।”
“जनताको साथमा नेपाली कांग्रेस” अभियान पहिलो चरण भदौ १० देखि बीपी जन्मजयन्ती भदौ २४ सम्म, दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो र निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता पछि सञ्चालन हुने छ ।
१०९ औ विपि स्मृती दिवश तथा जनताको साथमा कांग्रेस अभियानको शुक्रबार आयोजित कार्यक्रममा संविधान सभा सदस्य शान्तिदेवी चौधरी, नेपाली कांग्रेस प्रदेश नम्बर १ का सदस्य केशव भट्टराई, गणेश परियार, नेपाली कांग्रेसका क्षेत्रीय सभापती खगेन्द्र राई, प्रदेश सभा सदस्य सन्जा दनुवार, शान्ता पौडेल, प्रदेश सभा १ (क) सभापती अर्जुन दाहाल १ (ख) का सभापती सरोज बस्नेत, प्रदेश सभा २ (क) का सभापती खेस बहादुर मगर, महिला संघका सभापती लिला राई, त्रियुगा नगरपालिका प्रमुख बसन्त कुमार बस्नेत, वेलका नगरपालिकाका प्रमुख तथा नगर सभापती असोक कार्की, कांग्रेस नेता भोजराज खतिवडा लगायतका नेताले आफ्नो धारणा राखेका थिए ।