उदयपुर । त्रियुगा नगरपालिका वडा नं १६ को प्रशासकीय भवन आज एक कार्यक्रमका बिच उद्घाटन भएको छ । त्रियुगा नगरपालिकाका प्रमुख वसन्त कुमार बस्नेतले नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरेका हुन ।
वडा नं. १६ का वडाध्यक्ष मान बहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि त्रियुगा नगरपालिका प्रमुख बस्नेत सहित विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत मान बहादुर वन उपस्थित थिए ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख बस्नेतले नगर बासिहरुलाई वडाबाटै सहज रुपमा सेवा दिने नगरपालिकाको लक्ष्य रहेको बताए । “वडाबाट हुने सम्पुर्ण सेवा सुबिधा विना झन्झट हामी वडा बाटै सुबिधा दिने तयारीमा छौ।” उनले थप भने, “नगरपालिका भरिका सामुदायिक भवन वा अन्य भौतिक संरचना निर्माणमा नगरपालिकाले यो पाँच बर्षमा सम्झन लायक काम गर्नेछ ।”
कार्यक्रममा मन्तब्य राख्दै प्रमुख प्रशासकीय अधिकृत मान बहादुर वनले नव निर्मित प्रशासनिक भवनबाट प्रविधि सहितको सेवा सुचारु हुने बताए । “बिकट र दुर्गम वडा भए पनि सक्षम जनप्रतिनिधि भएकाले १६ नं. वडा अन्यको तुलनामा अगाडि छ ।” प्रअअ वन ले भने ।, यस्तै वडा अध्यक्ष मान बहादुर राइले नव निर्मित भवन प्रविधियुक्त भएकाले वडाबासिले सहज रुपमा सेवा लिनेमा आफु ढुक्क रहेको बताए ।
नवनिर्मित भवनको जिल्ला समन्वय समितिबाट १५ लाख र नगरपालिका गरी ६० लाख बजेटको लागत इस्टीमेट भए पनि निर्माण व्यवसायीबीच प्रतिस्पर्धा हुँदा ३७ लाखमा ठेक्का लागेको थियो । ३७ लाखमा ठेक्का सम्झौता भए पनि ठेक्का सम्झौता पछि केही डिजाइन भन्दा फरक काम गरे पछि निर्माण कम्पनीलाई सम्झौता भन्दा कम रकम २९ लाख मात्र भुक्तानी गरिएको वडा सचिव महेश खनालले जानकारी दिए ।
नवनिर्मित वडा कार्यलय भवन सभाहल, प्यासेज र सौचालय सहित १ तले ८ कोठाको रहेको छ।