काठमाडौं । हङकङबाट क्याथे प्यासिफिक विमान मार्फत ल्याएर अन्तर्राष्ट्रिय विमानस्थल भन्सार समेत पार गरि ट्याक्सीमा हालेर सिनामंगल सडकसम्म पुर्याइएको करिब एक क्विन्टल बरामद भएको सुनको कारोवारमा संलग्न ४ जना पक्राउ परेका छन ।
विमानस्थल भन्सार कार्यालय अगाडिबाट बा.२ च २३२४ नम्बरको ट्याक्सीमा राखेर सुन लैजान लागिएको अवस्थामा ट्याक्सी चालक सहित ४ जनालाई पक्राउ गरिएको हो ।
प्रहरी स्रोतका अनुसार अहिलेसम्म रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, रामकुमार भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई र ट्याक्सी चालकलाई पक्राउ गरिएको छ । उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले सुन बरामद भएको र केही व्यक्ति पक्राउ परेको पुष्टि गरेका छन । त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट जाँचपासपछि मंगलबार नै २ बजे ट्याक्सीमा बाहिर निकालिएको थियो ।
सुना बाहिरिएको एक घण्टापछि सिनामंगलबाट सुन बरामद भएको हो । मंगलबार साँझ नै सुन बरामद भए पनि गोप्य राखेर बुधबार दिनभरी विभागले अप्रेसन चलाएको हो ।