उदयपुर । उदयपुर प्रहरीले नेपाल प्रहरीको मोवाईल एप्लिकेसन “नेपाल पुलिस” औपचारीक रुपमा संचालनमा ल्याउने भएको छ । नेपाल प्रहरीको काम कारवाहीलाई समयानुकुल प्रविधि मैत्री सेवाको रुपमा संस्थागत विकास गर्ने उद्देश्य अनुरुप क्युआर कोड र नेपाल पुलिस एप एकै पटक संचालनमा ल्याउन लागिएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।
“सि समथिङ से समथिङ” भन्ने नारा सहित संचालनमा ल्याउन लागिएको प्रविधीबाट आम सर्वसाधारणले घटनाको बारेमा तत्काल प्रहरीलाई जानकारी दिन सक्ने उदयपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो ।
सामुदायका आपराधिक क्रियाकलाप, घटना तथा सूचना छिटोछरितो र प्रविधियुक्त तवरबाट सम्बोधन गरी थप क्षति हुन नदिन र अपराधीलाई तत्काल नियन्त्रण गर्न सो एपले सघाउ पुर्याउने उहाँले जानकारी दिनु भयो ।
एन्ड्रोइड र ‘आइफोन दुवैमा सञ्चालन हुने एप डाउनलोडपछि सर्वसाधारणले घटनाबारे आफू रहेकै स्थानबाट प्रहरीलाई तत्कालै जानकारी गराउन सक्ने र प्रहरी कार्यालयसम्म आउनुपर्ने बाध्यता नहुने उहाँले बताउनु भयो ।
प्रमुख थापाका अनुसार कार्यलयमा आउने सेवाग्राहीले पनि कार्यलयको सेवाको बारेमा जानकारी दिन वा कार्यरत प्रहरीले गलत व्यवहार गलत क्रियाकलाप गरे त्यसको तत्काल सूचना दिन क्युआर कोड र मोबाइल एपको प्रयोग गर्न सकिने छ ।
जिल्ला प्रहरी कार्यलय उदयपुरको सभाहलमा पत्रकारहरु सँग कुरा गर्दै प्रहरी प्रमुख थापाले कुनै पनि अपराधको तल सम्म पुगेर तहकित गरि त्यसलाई निर्मुल पार्ने गरि योजना बनाएर अगाडि बढ्ने बताउनु भयो ।