उदयपुर – उदयपुरको त्रियुगा नगरपालिकामा बृहत मुटु रोग सम्बन्धि दुई दिने निशुल्क स्वास्थ्य शिविर मंगलबार सम्पन्न भएको छ । त्रियुगा नगरपालिका वडा ८ को आयोजनामा निशुल्क मुटु स्वास्थ्य शिविर संचालन गरिएको हो ।
शिविरको उदघाटन गर्दै त्रियुगा नगरपालिका प्रमुख वसन्त बस्नेतले स्वास्थ्य क्षेत्रको विकास गर्न सकेमा हरेक नागरिक उपचारको पहुच सम्म सहज रुपमा पुग्ने बताए । उनले यस्ता स्वास्थ्य शिविर संचान हुदा उपचार गराउनबाट बञ्चित भएका बिरामीहरुलाई ठुलो सहयोग पुग्ने बताए ।
मुटु सम्बन्धि बिरामी भएपनि उपचार गराउन बिशेषज्ञ डाक्टरको पहँुचमा पुग्न नसकेका र निम्न आर्थिक अवस्था भएकाहरुलाई लक्षित गरिे मुटु स्वास्थ्य शिविर एक दिनको लागि संचालन गरिएको वडा अध्यक्ष राज कुमार राउतले बताए ।
निशुल्क शिविरमा नोवेल मेडिकल कलेजका मुटिरोग बिशेषज्ञ डाक्टर सुसान्त कटुवाल, डाक्टर दिपक राज वाराल र निशा याक्सोको टोलीले १ सय ९७ महिला र १ सय २८ पुरुष गरि ३ सय २५ जना बिरामीको स्वास्थ्य चेकजाँच गरेका छन । स्वास्थ्य चेकजाँच गर्ने क्रममा १० जनाको अप्रेसन गर्न पर्ने देखिएको छ । अप्रेसन गर्न पर्ने विरामीलाई २५ प्रतिशत सहुलियतमा अप्रेसन गरिदिने अस्पताल व्यवस्थापनले जनाएको छ । स्वास्थ्य चेकजाँच गर्दा सामान्य देखिएका बिरामीलाई औषधी समेत निशुल्क दिइएको थियो।