उदयपुर । त्रियुगा नगरपालिकाको स्वास्थ्य शाखाले बृहत नि:शुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । नगरपालिका भरिका करिव १ हजार महिलाको स्वास्थ्य चेकजाँच गर्ने उदेश्य सहित स्वास्थ्य शिविरको आयोजना गर्न लागिएको हो ।
त्रियुगा नगरपालिकाको आयोजना तथा सामुदायिक सेवा प्रतिष्ठान नेपाल भक्तपुरको प्राविधिक सहयोगमा महिलाको प्रजनन स्वास्थ्य सम्बन्धि स्वास्थ्य शिविरको आयोजना गरिएको नगर प्रमुख वसन्त बस्नेतले जानकारी दिए ।
नगर प्रमुख बस्नेतका अनुसार शिविरमा महिलाको प्रजनन स्वास्थ्य सम्बन्धि रोगको परिक्षण गरि शल्यक्रिया गर्नु पर्ने भएमा नि:शुल्क शल्यक्रिया समेत गरिने र नि:शुल्क औषधि बितरण गरिने छ ।
शिविरमा महिलामा हुने प्रजनन स्वास्थ्य अन्तर्गत पाठेघरको मुखको क्यान्सर जाँच, पिसाव चुहिने रोगको पहिचान तथा स्वास्थ्य उपचार, आंग खस्ने समस्याको उपचार परामर्श तथा शल्यक्रिया र महिला सम्बन्धि अन्य स्वास्थ्य चेकजाँच गरिने नगर स्वास्थ्य शाखाका प्रमुख उपेन्द्र कार्कीले बताए ।
अस्पतालसम्म पहुँच नपुगेका बिरामीहरुमा स्वास्थ्य उपचार सेवाका लागि शिविरको आयोजना गरिएको त्रियुगा नगरपालिका वडा नं ५ का वडा अध्यक्ष उद्धव थापाले बताए ।
शिविरमा महिला सम्बन्धि विभिन्न ९ प्रकारका सेवाहरु उपलब्ध गराइने छ । छाला तथा यौन रोग परिक्षण सँगै बिरामीहरुलाई रोग सम्बन्धि जानकारी र परामर्श दिइने छ ।