उदयपुर- कटारीमा जारी १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा डिफेन्डिङ चेम्पियन त्रियुगालाई मात दिदै कटारीले उपाधी जितेको छ । गत बिहीवार देखि तीन दिन सम्म कटारीको त्रिवेणी माविमा सञ्चालन भएको प्रतियोगितामा ३१ स्वर्ण २० रजत र २० काँस्य गरि कुल ७१ पदक जित्दै कटारी नगरपालिकाले यस वर्षको रनिङ शिल्डको उपाधि हात पारेको हो ।
शिल्ड जिम्मा लाउदै प्रतियोगितामा दोस्रो भएको त्रियुगा नगरपालिकाले २५ स्वर्ण १७ रजत र ३५ काँस्य गरी कुल ७७ पदक जितेको छ।
उदयपुरगढी गाउँपालिका ४ स्वर्ण १ रजत र २ कास्य गरि कुल ७ पदक जित्दै तेस्रो स्थान हासिल गरेकोछ। जिल्लाका ८ पालिकामध्ये प्रतियोगितामा ६ वटा पालिकाले स्वर्ण पदकसहित अन्य पदक हात पारेका छन्। एउटा पालिकाले स्वर्ण पदक प्राप्त गर्न सकेन। लिंचुङबुङ गाउँपालिका भने प्रतियोगीतामा सहभागी भएको थिएन।
‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ तीन दिनसम्म चलेको प्रतियोगितामा कबड्डी कराँते ,तेक्वान्दो, उसु, एथलेटिक्स (महिला/पुरुष ) दौड प्रतियोगिता अन्तर्गत १०० मि, २०० मि, ४०० मि, ८०० मि, १५०० मि, ३००० मिटर, हाइजम्प, लङ्गजम्प, त्रिपल जम्प, ज्याभलिङ्ग थ्रो, सटपुट, १०० ह ४ रिले र ४०० ह ४ रिले लगायतका खेलमा ७ पालिकाका ६ सय ४ खेलाडीहरुले विभिन्न ६ खेल विधामा प्रतिस्पर्धा गरेका थिए।
भलिबल पुरुषतर्फ त्रियुगा नगरपालिका प्रथम र चौदण्डी नगरपालिका दोस्रो भयो। महिलातर्फको भलिबलमा त्रियुगा नगरपालिका प्रथम, कटारी नगरपालिका दोस्रो भयो।
कवडी पुरुषतर्फ त्रियुगा नगरपालिका प्रथम, कटारी नगरपालिका दोस्रो भयो भने महिलातर्फ कटारी नगरपालिका प्रथम, त्रियुगा नगरपालिका दोस्रो भयो।
एथ्लेटिक्समा कटारी नगरपालिका प्रथम, त्रियुगा नगरपालिका दोस्रो भए। जिल्ला खेलकुद विकास समिति, उदयपुरको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो।