रौता पोखरीमा धार्मिक मेला

Logo
शनिबार, बैशाख ०१, २०८१

गाईघाट, वैशाख १  गते । नयाँ वर्षको उपलक्ष्यमा उदयपुरको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल रौता पोखरी क्षेत्रमा शुक्रबार धार्मिक मेला लागेको छ। केही वर्ष कोरोना महामारीका कारण प्रभावित भए पनि अघिल्लो वर्ष र यस बर्ष भने रौतामा भव्य मेला लागेको छ।

आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको मेलामा ठूलो सङ्ख्यामा भक्तजनको उपस्थिति रहेको मेला आयोजक समितिले जनाएको छ। नयाँ वर्षको उपलक्ष्यमा लाग्ने मेलामा उदयपुर, सिरहा र सप्तरी जिल्लाबाट ठूलो सङ्ख्यामा आएका भक्तजनको पोखरी क्षेत्रमा घुइँचो लागेको छ।

रौता भगवतीको दर्शनबाट मनोकामना पूरा हुने विश्वास भएकाले नयाँ वर्षमा भगवतीको दर्शन गर्न आउने भक्तजनको सङ्ख्या हरेक वर्ष वृद्धि हुँदै गएको पुजारी पहलमान अधिकारीले बताउनुभयो। रौतामाई गाउँपालिका–६ मा अवस्थित रौता क्षेत्र उदयपुर जिल्लाकै प्रमुख धार्मिक पर्यटकीय स्थलसमेत भएकाले त्यस क्षेत्रमा भक्तजनको भिड लाग्नु स्वाभाविकै मानिन्छ।

रौतामाई प्रति यस्तो छ जनविश्वास

रौतामाई दर्शनले मनोकामना पुरा हुने जनविश्वास छ। मन्दिरका पूजारीका अनुसार देवी भाकेर मनले जे माग्यो त्यो फल प्राप्त हुन्छ। धन लाभ, निरोगिता, सन्तान प्राप्ति, जागिरमा बढुवा लगायत सबै खाले मनोकांक्षा पूरा हुने विश्वासमा बर्सेनी हजारौं तिर्थालु रौता पोखरी पुग्छन्।

भाकल पूरा भएपछि तिर्थालुहरु बलि लिएर आउँछन्। देवीलाई चढाउँछन्। रौतामाईलाई पाठी र परेवा बलि चढाइन्छ। बोका, भाले र हाँस दिइँदैन। त्यस्तै धुपबत्ति, अबिर, अक्षता, फूल, ध्वजापताका, चुरापोते, त्रिशुल आदि चढाइन्छ। वैशाख १ गतेका दिन मन्दिरमा ठूलो मेला लाग्छ। त्यति बेला पूजापाठ, नाचगान र खानपिन गरिन्छ। पोखरीमा नुहाउन पाइन्न। बाहिरको धारामा नुहाउँछन् तिर्थालु। पोखरीकै पानी ग्यालिनमा झिकेर बाहिर चौरमा आएर नुहाउन भने पाइन्छ।

किंवतन्ती

पुजारी भिमबहादुर राना मगरका अनुसार रौतारानीको महिमाका विषयमा एउटा घटना सुनाए ३६ वर्ष भएछ, पूजारी बनेको। वि.सं. १९६४ मा रुम्जाटार, ओखलढुंगाका भुजुङ गुरुङ सयौं भेडा लिएर यही बाटो हिँडेका रहेछन। त्यतिबेला उनका ५ सय भेडा हराए छन्। भेडा हराएपछि उनले धुई धुई रौता वरिपरि खोजेछन, तर भेटिएन। त्यसपछि गुरुङले बुढापाकालाई सोध्दा ‘रौताको शरणमा जाउँ, भेटिन्छन’ भनेछन्। भुजुङ रौतादेवीको शरणमा पुगे। ‘मेरा भेडा देखा पार्दिनु देवी म यहाँ मन्दिर बनाउँछु’, उनले आँखा चिम्म गरेर याचना गरेछन्। त्यहिबेला भेडा कराएको आवाज सुनियो। नभन्दै सबै भेडा फेला परेछन्। त्यसबाट खुशी भएर उनले ढुंगाको सामान्य मन्दिर बनाई दिएपछि उनका नातिले वि.सं २००७ सालमा ठूलो मन्दिर बनाए। तीसको दशकमा तिनै नातीले दिएको ३० हजार रुपैयाँले मन्दिर व्यवस्थित गरिएको पूजारीबा सुनाउँछन्।

हिँडेर पोखरीको फन्को मार्न १० मिनेट जति लाग्छ। रौतापोखरी क्षेत्र पानीको मुहान पनि हो। यसबाट पूर्वमा अँधेरी खोला, पश्चिममा त्रियुगा खोला, उत्तरमा राँकुली तथा रसुवा खोला र दक्षिणमा बरुवा खोला बग्छन्। पश्चिमपट्टिको त्रियुगा खोलामा अन्य साना–ठूला खोला मिसिंँदै जाँदा त्रियुगा नदी बन्छ र अनि तल तराईमा बग्दै जाँदा तपेश्वरी र ओद्राहको बीचमा सप्तकोशीमा पुगेर मिसिन्छ। अनौठो कुरा–छेउमा त्यति ठूलो जंगल भएता पनि पोखरीमा एउटा पात पनि देखिँदैन। पात खस्यो कि चराले टिपेर किनारा लगिहाल्छ रे  पानीमा पात पर्ना साथ गुलाबी सिउँर भएका चराले चुच्चोमा च्यापेर घाम झुल्किनु अघि नै बाहिर फाल्छन् भन्ने सुनाए पूजारीले।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।