

त्रियुगा नगरपालिका वडा नं २ मोतियाहीमा कृषि बजारको औपचारिक सुरुवात भएको छ। नगर प्रमुख बसन्त बस्नेतले उक्त बजारको एक समारोहका बिच उद्घाटन गर्नु भएको हो । उद्घाटन समारोहमा नगर प्रमुख बस्नेतले आफ्नो कार्यकालभरिमा नगरपालिकालाई कृषिमा आत्मनिर्भर नगर बनाउने लक्ष्य रहेको बताउनु भयो ।
उहाँले किसानहरूलाई कृषि क्षेत्रमा प्रविधि र आधुनिकिकरणको महत्व बुझाउन जोड दिनु हुँदै वडा नं २ का कृषकलाई आधुनिक कृषि प्रविधिमा अगाडि बढ्न प्रोत्साहन दिनका लागि नगरपालिकाले १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नु भयो ।
नगर प्रमुख बस्नेतले भन्नु भयो, “कृषिमा आत्मनिर्भर हुन स्थानीय स्तरमै कृषि बजार सञ्चालन गर्न जरुरी छ। यस बजारले किसानहरूलाई आफ्ना उत्पादन बिक्री गर्ने सहज अवसर प्रदान गर्नेछ।”
कार्यक्रममा वडाध्यक्ष, जनप्रतिनिधिहरु, स्थानीय किसान, व्यापारी, र अन्य व्यक्तिहरूको उपस्थिति रहेको थियो। स्थानीय कृषकहरूले यस कदमले आफ्नो उत्पादनलाई उचित मूल्यमा बिक्री गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
त्रियुगा नगरपालिकाले आगामी दिनमा कृषि क्षेत्रलाई थप सशक्त बनाउन विभिन्न योजनाहरू अघि बढाउने जनाएको छ।