

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत त्रियुगा नगरपालिकाको आयोजनमा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ कार्यक्रम सञ्चालन भएको छ । अभियानअन्तर्गत पहिलो चरणमा नगरका ४० जना युवायुवतीलाई समेटेर ५० दिने डकर्मी तालिमको समापन गरि प्रमाणपत्र वितरण गरिएको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको युवा रोजगारीका लागि रुपान्तरण पहल (युवारुप)आयोजना मार्फत कार्यस्थलमा आधारित सीप विकास तालिम सञ्चालन गरिएको त्रियुगा नगरपालिकाका रोजगार संयोजक निशा घलेले जानकारी दिनु भयो ।
त्रियुगा नगर प्रमुख बसन्त बस्नेतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा अध्यक्षहरु, नगरक्षेत्रमा बसोबास गर्ने १८ देखि ५९ वर्ष उमेर समूह, अन्य सरोकारवालाको सहभागितामा नगरका विभिन्न वडाका ४० सुचिकृत बेरोजगारहरुलाई कार्यस्थलमा आधारित सिपबिकास तालिमको प्रमाणपत्र दिइएको थियो ।
प्रमाणपत्र वितरण गर्दै नगर प्रमुख बस्नेतले काम कुनै ठुलो सानो नहुने मेहनत र परिश्रम ठुलो हुने बताउदै परिश्रमको सवैले सम्मान गर्नु पर्ने बताउनु भयो ।
तालिम लिएकाहरुलाई अब ५० दिन रोजगारी समेत सुनिश्चित भएको छ । उनिहरुले अब आफुले सिकेको सिपको प्रयोग गरि दैनिक ६ सय ६७ ज्यालादारी पाउने गरि काम गर्नु पर्ने छ ।
त्यसअघि नगरभित्रका विभिन्न वडामा साझेदारीमा वडागत योजनामार्फत ८० बेरोजगारलाई एक सय दिनको रोजगारी दिइएको थियो ।