

गाईघाट । दुई हप्ता देखि रोकिएको उदयपुरको सदरमुकाम गाईघाट बजारको फोहोर उठ्न थालेको छ । त्रियुगा नगरपालिकाका वडा अध्यक्ष सुमन्त कोईरालाले कार्वाहक मेयरको जिम्मेवारी लिएसँगै बजारको फाेहर बिसर्जनको समस्या समाधान भएको हो ।
गाईघाट बजार क्षेत्रमा जम्मा भएको फोहोर त्रियुगा नगरपालिकाले वडा नं. १२ को बिसनपुर, वडा नं. ५ को दमौती, वडा नं. ६ को चुरे क्षेत्रमा र वडा नं. १० को चप्पन क्षेत्रमा विर्सजन गर्दै आएको थियो । तर, स्थानीयले त्यस क्षेत्रमा फोहोर विसर्जन गर्न रोक लगाएपछि उठ्न नसकेको फोहोर बुधबारदेखि पुनः उठाउन थालिएको हो ।
त्रियुगा नगरपालिका–११ मा पर्ने चपन वन समूहको पिकनिक स्पोर्टको बरुवा खोलामा निर्माण गरिएको बाँधमा गाईघाटको फोहोर विसर्जन गर्न थालिएको हो ।
त्रियुगा नगरपालिकाका कार्यवाहक मेयर तथा त्रियुगा–११ का वडाध्यक्ष सुमन्त कोइरालाले बरुवा खोलामा निर्माण भएको बाँधमा फोहोर विर्सजन गर्न थालेपछि फोहोर उठ्न थालेको जानकारी दिए ।
‘आज हामीले टोल विकास संस्थाको बैठक राखेर फोहर विसर्जन गर्ने बारेमा निर्णय समेत गरेका छौँ । बाँध निर्माण हुँदा गहिरो बनेको खाल्डोमा फोहोर फालेर माथिबाट माटोले पुरेर बाँधलाई अझ बलियो बनाउने र माथीबाट फूलका विरुवा रोप्ने तयारीका साथ चपन वन क्षेत्र सदुपयोग गरेका हौँ,’ उनले भने ।
कार्यवाहक मेयर कोईरालाले वडा नम्बर ११ का ४० वटै टोल विकास संस्थाका अध्यक्षहरुको भेलाको निर्णयानुसार फोहरको बाँध निर्माण गर्न लागिएको जानकारी दिए ।
त्रियुगा नगरपालिकाको फोहोर विसर्जन गर्ने ठाउँ छैन । २०५३ सालमा स्थापना भएको नगरपालिका भए पनि फोहोर विसर्जन गर्ने स्थायी ठाउँ निर्माण नहुँदा वेलावेलमा बजार क्षेत्र दुर्गन्धित हुने गरेको छ।