

उदयपुर । आगामी छठ पर्वलाई लक्षित गर्दै त्रियुगा नगरपालिकाको सहयोगमा त्रियुगा नदी किनारमा पूर्वाधार निर्माणको काम तीव्र गतिमा भइरहेको छ। नगरपालिकाका दुई वटा जेसीवीको सहयोगमा स्थानीय बासिन्दा र छठ पूजा समितिको सक्रिय सहभागितामा सरसफाइ, नदिको वहाव बिचमा ल्याउने खोला सम्याउने काम भैरहेको छ ।
कोशी प्रदेशकै उत्कृष्ट र भब्य छठ मनाउने तयारीमा छठ पुजा समितिको आग्रहमा नगरपालिकाले इन्धन सहित जेसीवी पठाएर खोलालाई व्यवस्थीत बनाउन र सम्याउन आवश्यक पूर्वाधार निर्माण गर्न लागी परेको त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले बताउनु भयो ।
“छठ हाम्रो संस्कृति, आस्था र एकताको प्रतीक हो। नगरपालिकाको तर्फबाट आवश्यक सहयोग र समन्वय गरी भक्तजनहरूले सहज, सुरक्षित र व्यवस्थित वातावरणमा पूजा गर्न सकून् भन्ने उद्देश्यले तयारी गरिएको हो।” मेयर बस्नेतले भन्नु भयो ।
त्यस्तै, छठ पूजा समितिका अध्यक्ष चन्दन कुमार शाहले यो वर्ष छठलाई अझ भव्य र व्यवस्थित बनाउन तयारी तीव्र पारिएको बताउनु भयो । उहाँले भन्नु भयो, “त्रियुगा नगरपालिकाको सहयोगले यसपटक भक्तजनलाई पर्याप्त सुविधा उपलब्ध हुनेछ। सबैलाई स्वच्छता र अनुशासनमा रही पर्व मनाउन आग्रह गर्दछौं।”
छठ पर्व सूर्य भगवान् र छठी माईको आराधनामा मनाइने हिन्दू धर्मको एक महत्वपूर्ण पर्व हो। चार दिनसम्म चल्ने यस पर्वमा भक्तजनले उपवास, नदी स्नान र सूर्यलाई अर्घ्य अर्पण गरी परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्छन्।
त्रियुगा नगरपालिकाले यस वर्ष पनि छठ पर्वलाई सुरक्षित, स्वच्छ र व्यवस्थित बनाउन आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको जनाएको छ।