

उदयपुर — शिक्षाको गुणस्तर अभिवृद्धि र विद्यार्थीमैत्री सिकाइ वातावरण सृजना गर्ने उद्देश्यसहित त्रियुगा नगरपालिका १३ लक्ष्मीपुर मावीको आधुनिक विद्यालय भवन आज एक औपचारिक समारोहका बीच उद्घाटन गरिएको छ। भवनको उद्घाटन नगर प्रमुख बसन्त बस्नेतले गर्नुभयो।
उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख बस्नेतले शिक्षाको विकासमा भौतिक पूर्वाधारको ठोस योगदान रहने उल्लेख गर्नुभयो। गुणस्तरीय शिक्षा केवल पाठ्यक्रम र शिक्षकमात्र होइन, सुविधा सम्पन्न पूर्वाधारमा पनि निर्भर हुने भन्दै नव निर्मित विद्यालयको भवनले विद्यार्थीहरूलाई सिकाइमा केन्द्रित वातावरण प्रदान गर्ने विश्वास व्यक्त गर्नु भयो ।
नगर प्रमुख बस्नेतले स्थानीय सरकारको प्राथमिकतामा शिक्षा र स्वास्थ्य रहेको हुँदा नगर अस्पताललाई स्तरोन्नति गर्न २२ करोड रुपैयाको श्रोत सुनिश्चितता गरेको र यसै आर्थिक वर्षमा थप ३ बिद्यालयमा सुविधा सम्पन्न भवन निर्माण गर्ने गरि बजेटको व्यवस्था गरिएको जानकारी दिनु भयो ।
यस्तै नगर उप प्रमुख महेश्वरी राईले कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नव निर्मित भवनले हाम्रा बालबालिकाहरूलाई सुरक्षित, सहज र प्रेरणादायी वातावरणमा अध्ययन गर्न सक्ने अवसर प्रदान विश्वास व्यक्त गर्नु भयो । उहाँले हालैको जेन जी आन्दोलनको विध्वंसमा विद्यार्थीहरुको सहभागीता नरहेको भन्दै विद्यार्थीहरु जलाउने च्यात्ने फोड्ने भन्दा बनाउन लाग्ने भनाई राख्नु भयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार प्रसाद कोईरालाले नगरपालिकाले भवन बनाएर चावी हस्तान्तरण गरेको स्मरण गराउदै सबै शिक्षक, अभिभावक र समुदाय मिलेर यस विद्यालयलाई केवल भवन होइन, ज्ञान र संस्कारको मन्दिर बनाउन आग्रह गर्नु भयो ।
नव निर्मित भवनको कुल लागत अनुमान रु ५ करोड ४६ लाख ४४ हजार ४ सय २५ रहेकोमा ४ करोड ३७ लाख ५८ हजार ५ सय २५ रुपैयामा ठेक्का सम्झौता गरिएको थियो । कम्पनीले उत्कृष्ट प्राविधिक मापदण्डमा रहेर रु ३ करोड ७३ लाख ११ हजार ३ सय ९ मा सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी तोकिएको मिति भन्दा अगावै कार्य सम्पन्न गरेको हो।
भवनमा १४ कोठा, २ छात्रा शौचालय र २ छात्र शौचालय रहेका छन्, जसले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक वातावरण अझ सहज र सुरक्षित बनाउने अपेक्षा गरिएको छ।