

उदयपुर — त्रियुगा नगरपालिकाको आयोजनामा असोज ३० गते बिहीवार चौथो त्रियुगा अन्तर–विद्यालय मेयर रनिङ शिल्ड (सांस्कृतिक नृत्य) प्रतियोगिता–२०८२ को भव्य उद्घाटन गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख बसन्त बस्नेतले प्रतियोगिताको उद्घाटन गर्दै शिक्षा र संस्कृतिको संयोजनले विद्यार्थीको व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।
विद्यालयले केवल पढाइ मात्र होइन, प्रतिभा र संस्कार विकास गर्ने थलो बन्नु आवश्यक रहेको बताउदै प्रमुख बस्नेतले यस्ता प्रतियोगिताले विद्यार्थीमा आत्मविश्वास, सृजनशीलता र देशप्रेम जगाउने विश्वास व्यक्त गर्नु भयो ।
उप–प्रमुख महेश्वरी राईले प्रतियोगिताले विद्यार्थीहरूमा प्रतिस्पर्धा र सहकार्यको भावना विकास गर्ने उल्लेख गर्दै स्थानीय सरकार सधैं शिक्षाको गुणस्तर र सह–पाठ्यक्रम गतिविधिमा जोड दिने बताउनुभयो।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत कुमार कोईरालाले स्थानीय तहको लगानी र विद्यालयको सक्रियता मिलेर मात्र विद्यार्थीको सर्वांगीण विकास सम्भव हुने बताउनुभयो। उहाँले विद्यालयहरूलाई यस्ता सृजनात्मक गतिविधिलाई निरन्तरता दिन आग्रह गर्नुभयो।
कार्यक्रममा त्रियुगा नगरका विभिन्न २४ विद्यालयका विद्यार्थीहरूले आफ्ना कला र सांस्कृतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा समुदायका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो।