

उदयपुर । उदयपुर जिल्लाका आठवटै स्थानीय तहहरूमध्ये त्रियुगा नगरपालिका स्वास्थ्य क्षेत्रका मापदण्ड अनुसार प्रथम भएको छ। जिल्ला स्वास्थ्य कार्यालयले हालै सार्वजनिक गरेको मूल्यांकन प्रतिवेदनअनुसार, स्वास्थ्य सेवाको पहुँच, मातृ–शिशु स्वास्थ्य, सरसफाइ, खोप अभियान, र सामुदायिक स्वास्थ्य सेवा प्रवर्द्धनका सूचकमा त्रियुगा नगरपालिका अग्रस्थानमा रहदै प्रथम भएको हो।
जिल्लाका अन्य स्थानीय तहहरूका तुलनामा त्रियुगाले स्वास्थ्य संस्थाको स्तरोन्नति, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, र समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धिमा उल्लेखनीय काम गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्रियुगा नगरपालिकाको स्वास्थ्य क्षेत्रमा देखिएको प्रगति र सुधारमा नगर प्रमुख सहित सम्पुर्ण जन प्रतिनिधिहरुको संयुक्त प्रयास र स्वास्थ्यकर्मीहरु निरन्तर मेहनतले सफलता पाएको जनस्वास्थ्य अधिकृत उपेन्द्र कार्कीले बताउनु भयो ।
अधिकृत कार्कीका अनुसार नगरपालिकाले सबै वडामा आधारभूत स्वास्थ्य सेवा सुलभ र प्रभावकारी बनाउन गर्भवती, सुत्केरी र बालबालिकालाई लक्षित कार्यक्रम विस्तार, मेयर सँग ज्येष्ठ नागरिक स्वास्थ्य प्रवर्द्धन कार्यक्रमको आयोजना गरि घर घर र समुदायमा पुगि सेवा दिने गरेका कारण स्वास्थ्य क्षेत्रमा सुधार प्रगति भएको हो ।
स्वास्थ्य क्षेत्रमा त्रियुगा नगरपालिका जिल्लामा मात्र नभएर देशकै नमुना र उत्कृष्ट नगरपालिका हुने गरि काम गरिरहेको नगर प्रमुख बसन्त बस्नेतले बताउनु भयो ।
“नगरपालिकाको प्राथमिकता सदैव स्वास्थ्य र शिक्षामा केन्द्रित छ । नगरअस्पताल संचालनमा ल्याएको एक वर्ष पुग्दा नपुग्दै हामीले भारतीय सरकारको सहयोगमा गुणस्तरीय स्वास्थ्यका लागि सुविधा सम्पन्न भवन र अत्यधुनिक स्वास्थ्य उपकरण सहितको नगर अस्पताल बनाउन लागेका छौ ।”नगर प्रमुख बसनेतले भन्नु भयो ।
मेयर बस्नेतका अनुसार नगरपालिकाले स्वास्थ्य सेवा सुलभ र प्रभावकारी बनाउन गर्भवती, सुत्केरी र बालबालिकालाई लक्षित कार्यक्रम विस्तार, मेयर सँग ज्येष्ठ नागरिक स्वास्थ्य प्रवर्द्धन कार्यक्रमको आयोजना गरि घर-घर र समुदायमा पुगि नि:शुल्क औषधी उपचार गर्ने गरिएको छ ।