

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा सम्पन्न चौथो त्रियुगा अन्तर–विद्यालय मेयर रनिङ शिल्ड (सांस्कृतिक नृत्य) प्रतियोगितामा प्याराडाइज सेकेन्डरी स्कुल गाईघाटले विजयी हुँदै उपाधि हात पारेको छ ।
प्याराडाइज स्कुलले उत्कृष्ट प्रस्तुतिसहित पहिलो स्थान हासिल गर्दै रु. १७ हजार नगदसहित शिल्ड, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेको हो ।
प्रतियोगितामा त्रियुगा नमुना माध्यमिक विद्यालयले दोस्रो स्थान हासिल गर्दै रु. ११ हजार नगद, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्यो भने लाली गुराँस इङ्लिश बोर्डिङ स्कुल तेस्रो भई रु. ७ हजार नगद, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ।
त्यसैगरी, क्यानभास एकेडेमीले चौथो स्थान हासिल गर्दै रु. ४ हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
सान्त्वना पुरस्कारका रूपमा श्रीपुर माध्यमिक विद्यालय र लक्ष्मीपुर माध्यमिक विद्यालयलाई जनही रु. २५ सय नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ।
कार्यक्रममा विजेता टोलीहरूलाई प्रमुख अतिथि त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेत, उपप्रमुख महेश्वरी राई, प्रमुख प्रशासकीय अधिकृत कुमार प्रसाद कोइराला लगायत जनप्रतिनिधि, विद्यालयका प्रतिनिधि तथा अभिभावकहरूले पुरस्कार प्रदान गरेका थिए।