गाईघाट, उदयपुर। त्रियुगा नगरपालिका वडा नं. १० को आर्थिक वर्ष २०८२/८३ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।
वडा नं. १० को सभाहलमा आयोजित कार्यक्रममा एक सयभन्दा बढी स्थानीयको सहभागिता रहेको थियो। सार्वजनिक सुनुवाइको सहजीकरण रौतामाई नेटवर्क प्रालिले गरेको हो।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष भक्ति विलास पोखरेललगायत पत्रकारहरूले कार्यक्रम सञ्चालन, नागरिक प्रतिवेदन प्रस्तुत तथा सार्वजनिक सुनुवाइको समग्र प्रक्रियालाई सहजीकरण गरेका थिए।
सार्वजनिक सुनुवाइका क्रममा वडा कार्यालय र जनप्रतिनिधिले आर्थिक वर्षभरि गरेका विकास निर्माणका काम, सेवा प्रवाह तथा योजनाको कार्यान्वयनका विषयमा तयार गरिएको नागरिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। साथै स्थानीय नागरिकबाट संकलित गुनासा, सुझाव र सेवाप्रवाहप्रतिको धारणा भिडियोमार्फत जस्ताको तस्तै प्रस्तुत गरिएको थियो।
कार्यक्रमको प्रश्नोत्तर सत्रमा सहभागीमध्ये करिब चार जनाले वडा कार्यालयको सेवा, विकास निर्माण, योजना कार्यान्वयन तथा अन्य स्थानीय सरोकारका विषयमा जिज्ञासा र गुनासा राखेका थिए।
उठाइएका प्रश्न तथा गुनासाको जवाफ दिँदै वडा अध्यक्ष किरण पाण्डेले नागरिकबाट आएका सुझाव र आलोचनालाई सकारात्मक रूपमा ग्रहण गर्दै आगामी दिनमा सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाइने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
उहाँले विकास निर्माणका काममा नागरिकको निरन्तर साथ, सहयोग र रचनात्मक सुझाव आवश्यक रहेको उल्लेख गर्दै सार्वजनिक सुनुवाइले जनप्रतिनिधि र नागरिकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नु भयो ।
सहभागीहरूले सार्वजनिक सुनुवाइलाई जनप्रतिनिधि र नागरिकबीच प्रत्यक्ष संवाद गर्ने प्रभावकारी माध्यमका रूपमा लिँदै यस्ता कार्यक्रमलाई नियमित र अझ प्रभावकारी बनाउनुपर्ने सुझाव दिएका थिए।