

उदयपुरको त्रियुगा नगरपालिकाले तिन वटा पहाडी वडामा कफीखेती प्रवर्द्धन एवं विस्तार गरि कफी पकेट क्षेत्र बनाउने उदेश्यले काम शुरु गरेको छ।
चालु आर्थिक वर्षमा नगरपालिकाले तिन वडामा २ सय रोपनीका दरले ६ सय रोपनी जग्गामा कफीको पकेट क्षेत्र घोषणा गरि स्थानीयलाई कफी सम्बन्धी तालिमको आयोजना गरेर कफीखेती प्रवर्द्धन एवं विस्तार गर्ने कामको सुरुवात गरेको हो।
वडा नं १४, १५ र १६ मा एकएकवटा पकेट क्षेत्र स्थापना गरि स्थानीय कृषकलाई कफी रोप्ने, हुर्काउने, गोडमेल गर्ने, हावापानीको अवस्था बुझ्ने, सिंचाई लगायत उपर्युक्त जमिन र माटोको छनोट गर्ने बिषयमा तालिम दिइएको छ । धरान कफी तथा कृषि उद्द्यम केन्द्रको प्राविधिक सहयोग, प्रदेश सरकारको आर्थिक सहयोग र त्रियुगा नगरपालिका कृषि शाखाको आयोजनामा पहाडी वडाका १ सय घर परिवारलाई कफी सम्बन्धि तालिम दिइएको हो ।
तिन वडाको हावापानी माटो परिक्षण गरेर कफी खेती योग्य स्थान देखिए पछि पकेट क्षेत्र निर्धारण गरि काम सुरु गरेको नगरपालिकाले जनाएको छ । इलामको चिया बगान जस्तै कफी बगान बनाएर पर्यटनलाई समेत जोड्दै पहाडी वडालाई कफी हव सँगै पर्यटनको हव बनाउने योजना अनुसार काम शुरु गरिएको नगर प्रमुख बसन्त बस्नेतले बताउनु भयो ।
नगरपालिकाले वडा नं १४, १५, र १६ मा पर्यटन प्रवर्द्धनका लागि हिल स्टेसन निर्माण, गुरास बन निर्माण र अव कफी जोन बनाएर त्यस स्थानका मानिसलाई व्यवसायीक बनाउने योजनामा नगरपालिका लागि रहेको नगर प्रमुख बस्नेतले बताउनु भयो ।
धरान कफी तथा कृषि उद्द्यम केन्द्रका संचालक तथा प्रशिक्षक अन्जना राइले कफी खेतीलाई मन लगाएर गर्ने हो भने व्यवसायी बन्ने मात्र नभएर मनग्य आम्दानी लिन सकिने बताउनु भयो । प्रशिक्षक राईले आफु पशिक्षण दिन मात्र आएको नभएर यहा कफी खेती गर्नेलाई पूर्ण व्यवसायी बनाउने उदेश्यले आएको र आफुले निरन्तर यहाँको कफी खेतीलाई अनुगमन गर्ने सल्लाह सुझाव दिने बताउनु भयो ।