

उदयपुर । कोशी प्रदेशमा शुक्रबारबाट विविध कार्यक्रम सहित ट्राफिक सप्ताह सुरु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीको आयोजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा कोशी प्रदेशका १४ वटै जिल्लामा ट्राफिक सप्ताह सुरु गरिएको हो ।
उदयपुरमा पनि एक समारोहका विच ट्राफिक सप्ताहको सुरु गरिएको छ । गाईघाट स्थित पिपल चोकबाट प्रभातफेरी सहित सुरु गरिएको पहिलो दिनको कार्यक्रम अन्तर्गत त्रियुगा नगरपालिका ३ स्थित त्रियुगा बसपार्कमा पुगेर एक कार्यक्रम सहित समापन गरिएको छ ।
कार्यक्रमको उद्घाटन त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्तकुमार बस्नेतले गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख बस्नेतले यात्रु, चालक र सडक प्रयोगकर्ता अनुशासित भए सडक दुर्घटनामा कमी आउने बताउनु भयो ।
उहाँले मदन भण्डारी लोकमार्गमा बढ्दो सवारी दुर्घटनालाई मध्य नजर गरि लोकमार्गको मोड सुधारका लागि सम्बन्धित मन्त्रालय र विभागमा जानकारी गराइएको भएता पनि सुनुवाइ नभएको गुनासो व्यक्त गर्नु भयो । जिल्ला सुरक्षा समितिले समेत राजमार्गको बनावत र मोडले धेरै दुर्घटना भैरहेको औल्याउँदै मोड सुधारका लागि सम्बन्धित ठाउँमा पत्राचार गरि सकिएको बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलले शहरीकरण बढे संगै बढ्दो सवारी दुर्घटना नियन्त्रण गर्नु आवश्यक रहेको बताउनु भयो । उहाँले ट्राफिक प्रहरीले मात्रै नभएर नागरिकहरु पनि सचेत हुनु पर्ने अबस्था आएको उल्लेख गर्नु भयो । सम्पुर्ण नागरिकहरुलाई अहिल्यै र आजै बाट दुर्घटना न्यूनीकरणमा लाग्ने र सचेत गराउन तर्फ लाग्न आग्रह गर्नु भयो ।
कार्यक्रममा त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राईले पछिल्लो समय मदन भण्डारी राजमार्ग सगरमाथा राजमार्गमा सवारी चाँप बढ्दै जाँदा ट्राफिक व्यवस्थापनमा चुनौती सृजना भएकाले त्यसलाई सहज र सरल बनाउनका लागि नगरपालिकाले सहयोग पु¥याउनेमा धारणा व्यक्त गर्नु भयो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक हरिहर नाथ योगीले सवारी चाँप बढे संगै दुर्घटनाका घटनाहरु समेत बढ्न थालेकाले त्यसलाई न्यूनीकरण गर्नका लागि प्रहरीले सचेतना, कारवाहि र ट्राफिक व्यवस्थापनमा काम गरिरहेको बताउनु भयो । उहाँले अति दुर्घटना ग्रस्त स्थानहरुको पहिचान गरि ति स्थानहरुमा ट्राफिक सचेतता बोर्ड तथा दुर्घटना न्यूनीकरणका लागि सचेतना बोर्ड लगाइएको बताउनु भयो ।