

उदयपुर । त्रियुगा नगरपालिका विपि आदर्श टोल निवासी समाजसेवी नारायण भक्त (गोपाल बाबु) बस्नेतले जिल्लाको अग्रणी शैक्षिक संस्था त्रियुगा जनता बहुमुखी क्याम्पसमा अक्षयकोष स्थापना गर्नु भएको छ । हरेक वर्ष गरिब तथा अतिविपन्न ८ जना छात्रछात्राले छात्रवृत्ति पाउने गरि एघार लाख बाइस हजार पाँच सय पचपन्न रुपैयाँको “नारायणभक्त(गोपाल बाबु)-थिर कुमारी बस्नेत” अक्षयकोष स्थापना गर्नु भएको हो ।
नेपाली कांग्रेस त्रियुगा नगरपालिका वडा नं ११ का वडा सभापति तथा समाजसेवी बस्नेतले अक्षय कोषको रकम क्याम्पसको सभाहलमा एक कार्यक्रम गर्दै क्याम्पस प्रमुख र क्याम्पस सन्चालक समितिलाई हस्तान्तरण गर्नु भयो ।
कार्यक्रममा बोल्दै समाजसेवी बस्नेतले क्याम्पसमा स्थापना गरेको अक्षयकोषलाई आउँदा दिनमा थप्दै लगि एक करोडको पुर्याउने आफ्नो लक्ष्य रहेको बताउनु भयो । आफ्नो परिवार सदिउ देखी समाजसेवामा तल्लिन रहेको बताउदै उहाँले मोतिगडा क्याम्पसमा अक्षयकोष स्थापना गर्न प्रेरित गर्ने आफ्नै भतिज तथा त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतलाई धन्यवाद दिनु भयो ।
यस्तै कार्यक्रममा उपस्थित संबिधान सभा सदस्य प्रमिला राईले शिक्षा जस्तो महत्वपूर्ण क्षेत्रमा बालबालिकाको भविश्यका लागि अक्षयकोषको स्थापना गर्नु हुने बस्नेतलाई बधाई ज्ञापन गर्नु भयो ।
कार्यक्रममा नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले अक्षयकोष स्थापना गर्ने परिवारको सदस्य हुन पाएकोमा आफुलाई गर्व लागेको बताउदै आउँदा दिनमा पनि यस्ता कार्यमा आफु लागि रहने र आफ्नो पेशा नै यहि भएको बताउनु भयो ।
अक्षयकोष रकम हस्तान्तरण तथा घोषणा कार्यक्रममा त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राई, स्थानीय बुद्धिजीवी, क्याम्पस संचालन समितिका उपाध्यक्ष प्रमेश्वर घिमिरे, वडा नं ३ का वडा अध्यक्ष तिलक कटुवाल, सदस्य प्रकाश खड्का, अक्षयकोष स्थापना गर्ने नारायण भक्त(गोपाल बाबु) का कान्छा छोरा प्रविन बस्नेत, निर्माण व्यवसायी संघका अध्यक्ष कौशल आचार्य लगायत विभिन्न स्थानीय बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।