

उदयपुर । त्रियुगा नगरपालिका वडा नं १ ले ३० जना ज्येष्ठ नागरिकका परिवारलाई न्यानो सामग्री वितरण गरेको छ। वडाको सभाहलमा आयोजित कार्यक्रममा वडा अध्यक्ष मनोज कुमार चौधरीले ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्दै सिरक, डस्ना, सिरानी, तन्ना र झुल वितरण गर्नुभएको हो ।
कार्यक्रममा त्रियुगा नगरपालिकाका प्रशासन शाखाका प्रशासकीय अधिकृत जनक ढुंगानाले ज्येष्ठ नागरिकहरू समाजका अनुभवका भण्डार र सन्तानका लागि प्रेरणाको स्रोत रहेको बताउनुभयो।
वडा अध्यक्ष चौधरीले ज्येष्ठ नागरिकहरू समाजको मेरुदण्ड भएको बताउदै ज्येष्ठ नागरिकले आ–आफ्नो जीवनको अमूल्य समय देश र समाज निर्माणमा समर्पण गर्नु भएको बताउदै उहाँहरूको अनुभव र सल्लाहले हामीलाई अगाडि बढ्न ऊर्जा प्रदान गर्ने बताउनु भयो ।
“वडाले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिँदै ज्येष्ठ नागरिक, विपन्न र असहाय परिवारलाई आवश्यक सहयोग प्रदान गर्दै जानेछ।” वडा अध्यक्ष चौधरीले भन्नु भयो, “हामी सबैले आमाबुबा तथा वृद्ध व्यक्तिहरूप्रति आदर र हेरचाह गर्न सिक्नुपर्छ।”
कार्यक्रममा वडा सदस्यहरू, स्थानीय प्रतिनिधि, समाजसेवी र लाभग्राही परिवारहरूको उपस्थिति रहेको थियो। वितरण कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरूले वडाले प्रदान गरेको सहयोगप्रति खुसी व्यक्त गर्दै धन्यवाद दिएका थिए।