

उदयपुर — आउदै गरेको दिपावली पर्वलाई शान्तिपूर्ण, सुरक्षित र सद्भावपूर्ण वातावरणमा मनाउन जिल्ला प्रशासन कार्यालय उदयपुरले विशेष अनुरोध गर्दै सूचना जारी गरेको छ।
कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै देउसी–भैलो कार्यक्रम बेलुका ८ बजेपछि सञ्चालन नगर्न अनुरोध गरेको हो ।
तिहार पर्वका नाममा जातीय, धार्मिक वा सामाजिक सम्बन्धमा खलल पुर्याउने कार्य नगर्न र नगराउन सचेत गराउदै कार्यलयले जारी गरेको सूचनामा भनिएको छ ।
त्यस्तै, कार्यालयले तास, जुवा तथा सट्टेबाजीसम्बन्धी गतिविधि पूर्णरूपमा निषेध गरिएको जानकारी गराएको छ। कानुनविपरीतका गतिविधि गर्ने जो कोहीमाथि आवश्यक कानूनी कारबाही गरिने भन्दै यस्ता गतिबिधि गरेको पाइएमा प्रहरीलाई खवर गर्न समेत सूचनामा आग्रह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले सबै नागरिक, स्थानीय निकाय, सुरक्षाकर्मी तथा सामाजिक संघसंस्थालाई पर्वका बेला शान्ति, सद्भाव र सुरक्षाको वातावरण कायम राख्न सहयोग गर्न पनि आग्रह गरेको छ।