उदयपुर गाईघाट । राष्ट्र निर्माण मञ्च नेपालको आयोजनामा, त्रियुगा नगरपालिकाको सहकार्य र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आईओएम (IOM) को सहयोगमा वैदेशिक रोजगारीमा जाने क्रममा अपनाउनुपर्ने सावधानी तथा मानव बेचविखन र मानव तस्करीका जोखिमबारे सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रम त्रियुगा नगरपालिकाका वडा नं. १, २, ४, ५, ६ र ८ लगायत सामुदायिक विद्यालयहरूमा सञ्चालन गरिएको थियो ।
कार्यक्रममा वैदेशिक रोजगारीमा रहेका व्यक्तिका आफन्त, विद्यार्थी, शिक्षक, स्थानीय प्रतिनिधि तथा समुदायका मानिसहरुलाई सचेतना कार्यक्रम सहभागी गराई वैदेशिक रोजगारीलाई व्यवस्थीत बनाउन अपनाउनु पर्ने व्यवहारीक र कानुनी बिषयमा जानकारी गराईएको थियो ।
सचेतना कार्यक्रममा सहजकर्ताहरुले वैदेशिक रोजगारीमा जानुअघि आवश्यक कानुनी प्रक्रिया पूरा गर्न, प्रमाणित र वैध रोजगार एजेन्टमार्फत मात्र प्रक्रिया अगाडि बढाउन, कागजातहरू सुरक्षित राख्न, श्रम स्विकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा गलत प्रलोभनमा नपर्न आग्रह गरेका थिए।
वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी, शोषण र मानव बेचविखनजस्ता घटना कसरी भैरहेका छन भन्ने बिषयमा जानकारी गराउनुका साथै छलफल गरिएको थियो ।
राष्ट्र निर्माण मञ्च नेपालका प्रतिनिधिहरूका अनुसार पछिल्ला वर्षहरूमा वैदेशिक रोजगारीका नाममा मानव तस्करीका घटना बढ्दो क्रममा रहेकोले यस्ता सचेतना कार्यक्रमहरू मार्फत समुदाय स्तरमा सचेतना बढाई वैदेशिक रोजगारीको नाममा हुने ठगी, मानव तस्करी र मानव वेचविखनलाई न्यूनीकरण गर्न सहयोग पुग्दै आएको छ ।
कार्यक्रम संचालन गरिएका वडाका वडा अध्यक्षहरुले कार्यक्रममा बोल्दै यस्ता गतिविधिले सुरक्षित, व्यवस्थित र जिम्मेवार वैदेशिक रोजगारी प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनिहरुले भविष्यमा पनि यस्ता सामाजिक सचेतना अभियानमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाए।
