उदयपुर । त्रियुगा नगरपालिकाले संचालनमा ल्याएको नगर अस्पताल सुविधा सम्पन्न बन्ने निश्चित भएको छ । भारतीय सरकारको अनुदान सहयोगमा नगर अस्पताल सुविधा सम्पन्न बन्ने पक्का भएको हो ।
त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेत र नेपालका लागि भारतीय राजदुतावासका काउन्सुलर (विकास साझेदारी एवं पूननिर्माण ) अविनास कुमार सिंह विच अस्पताल निर्माण गर्ने बिषयको समझदारी पत्र (mou)मा हस्ताक्षर भएको हो ।
त्रियुगा नगर प्रमुख बस्नेतका अनुसार दूतावास मार्फत भारतीय सरकारले २० करोड रुपैया आर्थिक सहायता गर्ने र त्रियुगा नगरपालिकाले २ करोड थप गरि २२ करोड बराबरको आधुनिक चिकित्सा उपकरण सहितको अस्पताल भवन निर्माण गरिने भएको छ ।
नगरवासीका लागि सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न यो परियोजना सावित हुनेमा आफु विश्वस्त रहेको नगर प्रमुख बसन्त कुमार बस्नेतले बताउनु भयो । आधुनिक उपकरण र दक्ष जनशक्ति सहितको अस्पतालले त्रियुगा वडा नं ४, ५, ६ का स्थानीयलाई ठुलो राहत मिल्ने छ ।
अस्पतालमा अत्याधुनिक चिकित्सा उपकरण, आकस्मिक सेवा, मातृत्व तथा शिशु स्वास्थ्य कक्ष, प्रयोगशाला, एक्स–रे र अल्ट्रासाउन्ड सेवा लगायतका सुविधा समावेश गरि नगरका नागरिकलाई सहज र सुलभ स्वास्थ्य सेवा पुर्याउने योजना अनुसार काम गरिएको मेयर बस्नेतले बताउनु भयो ।
